विराटनगर/ मोरङको दक्षिणी ग्रामिण वस्तीका वासिन्दालाई मुख्य राजमार्गको पहुँचमा जोड्ने दक्षिण नाका सडक विस्तारको निर्माण कार्य सुरु गरिएको छ ।

बहुवर्षिय योजना अन्तर्गत जिल्लाको दक्षिणी इलाकालाई उत्तर–दक्षिण सडकमार्फत पूर्व–पश्चिम राजमार्गसँग जोड्ने विस्तार योजनाको सडक निर्माण सुरु गरिएको हो ।

तीनवर्षमा सम्पन्न गर्ने गरी निर्माण प्रक्रिया सुरु गरिएका सडकले जिल्लाको दक्षिण भेगका वासिन्दालाई मुख्य राजमार्गसँग पहुँचमा ल्याउने उद्देश्यले योजना बनाइएको छ ।

सडक डिभिजन कार्यालयका इन्जिनियर दिपक झाका अनुसार मोरङमा दक्षिणको बरडंगा–आमबारीदेखि उत्तरको उर्लावारी जोड्ने ९ किलोमिटर दुरीको सडक, बेलबारी नगरपालिकाको डाँगीहाट लक्ष्मीमार्गदेखि दक्षिणमा धनपालथान गाउँपालिकाको बनौलीसम्म ९.५ किलोमिटर, जहदा गाउँपालिकाको रामचौक–सिनवनी जहदा हुँदै कटहरीको मझारे–पोखरिया ८.५ किलोमिटर सडक निर्माण तथा विस्तारको काम सुरु भएको छ ।

यी सबै सडकले भारतको सीमासम्मका नेपाली वस्तीलाई मुख्यराजमार्गसँग जोड्न छन् । जहदा गाउँपालिकाको रामचौकदेखि कटहरी गाउँपालिकाको मझारे तरिगामासम्म जोड्ने सडकलाई ५ मिटरबाट ९ मिटर चौडाईमा विस्तार थालिएको छ । यो सडक खण्डको ८.५ किलोमिटरमध्ये पहिलो चरणमा ४ किलोमिटर निर्माणका लागि काम सुरु गरिएको निर्माण कम्पनि रणभूमि ज्वाइन्ट भेन्चरका शुभम् बोहराले जानकारी दिएका छन् । तीस महिनामा सबै सडक निर्माण गरिसक्नुपर्ने गरि ठेक्का सम्झौता भएका कारण पहिलो चरणमा ४ किलोमिटर सडक ५ करोड ४९ लाख ८२ हजार रुपिँया लागतमा बन्नेछ । सडक डिभिजन कार्यालयले १६ करोड लागत अनुमान गरेको यो सडकको ठेक्का सम्झौता हुँदा ३० प्रतिशत न्यूनदरमा भएको इन्जिनियर झाको भनाई छ ।

पाँच मिटरबाट नौ मिटरको चौडासहित चारवटा कल्भर्ट निर्माण गर्नुपर्ने ४ किलोमिटर दुरीको कामलाई एकवर्ष भित्रै सक्ने योजना रहेको निर्माण कम्पनिका प्रतिनिधि श्याम मण्डलको दावी छ । सडकको दुवै क्षेत्रमा ढुंगाको पर्खाल उठाएर माटो भर्ने र पानीको निकासको काम गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ । यो सडकलाई मिथिला क्षेत्र सडकको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

त्यस बाहेक लक्ष्ममार्ग–डाँगीहाट–कर्सिया बनौली ९.५ किलोमिटर सडक १५ करोड रुपिँया लागतमा बन्नेछ । यसको समेत निर्माण सम्झौता भएर काम थालिएको छ । यसैगरी बरडंगा–आमबारी–उर्लावारी ९ किलोमिटर सडक निर्माणको काम समेत धमाधम भईरहेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मुख्य राजमार्गसँग भारतको सिमानासम्म रहेको दक्षिणी वस्तीलाई जोड्ने सडक निर्माण भएसँगै भारतसँगको व्यापारसँगै छोटी भन्सारका नाका समेत सञ्चालनमा आउन सक्ने कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत बताउँछन् ।

अध्यक्ष कामतले कटहरी गाउँपालिकाले समेत दक्षिण वस्ती र भित्री ग्रामिण वस्तीलाई गाउँपालिकासँग जोड्ने, छिमेकी गाउँपालिका तथा नगरपालिकासँग जोड्ने ६ सडक निर्माणको काम भएको बताएका हुन् ।

गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर चालु वर्षमा बिनियोजना गरेको १४ करोड रुपिँया रकममध्ये ९८ प्रतिशत रकम खर्च भएको उहाँको भनाई छ । कटहरी गाउँपालिकादेखि दक्षिण भारतीय सीमा जोड्ने सडकहरूलाई बजेटले बढी समेटेको अध्यक्ष कामतले जानकारी दिएका छन् ।