काठमाडौंः  आगामी तीन दिन देशभर चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल नगर्न विज्ञले सुझाव दिएका छन्। विज्ञले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्। 

केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उतारचढाव भइरहेको छ। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञको सुझाव छ। 

 जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए ।  उनले आइतबारदेखि तीन दिनसम्म देशको अधिकांश भागमा शीतलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे ।  

उनले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्ध वृद्धा, दीर्घरोगी, मुटुका रोगीले बिहानको समयमा घरबाहिर निस्कनु उचित नहुने बताए । उनले पश्चिम बङ्गालमा सिर्जना भएको न्यून चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुवाँलो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए ।  

उनले मर्निङ हिँड्दा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए ।  उनले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीमा समस्या र बालबालिका र वृद्ध वृद्धामा चिसोको असर बढी हुने बताए । जलवायुविज्ञ उप्रेतीले जनवरी, फेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसत भन्दा तल हुने र वर्षा पनि कम हुने बताए । उनले हिउँदमा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायु प्रदूषणमा पर्ने जानकारी दिए ।