रुकुमपश्चिमः ‘अवैध’ बाटो हुँदै ‘सपनाको देश’ अमेरिका जाने क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१०, का २० वर्षीय मदन शाही पानामाको जङ्गलमा मृत अवस्थामा भेटिएको खबर घरमा आइपुगेको छ। छोरो अमेरिका पुगेको खबर कहिले आउला भन्दै कुरेर बस्नुभएकी पुतली शाही छोरो नै नरहेको खबर सुनेर मर्माहत भएका छन् । मदनले घर छोडेको वर्ष दिन पुग्नै लाग्दा आइपुगेको दुखद खबरले परिवार र आफन्तलाई विक्षिप्त बनाएको छ।

मदनका दाइ कपिल शाहीले गत वर्षको फागुनमा घरबाट निस्केको भाइको मङ्सिर २५ गते मृत्यु भएको खबर सामाजिक सञ्जालमा फैलिएको जानकारी दिए । “घरमा बज्रपात भयो,” कपिलले भने, “कयौँ सपना साँचेर भाइ अमेरिका जान हिँडेको थियो, सबै सपना चकनाचुर भए, परिवारमा बल्नै लागेको खुसीको दियो निभ्यो।” मृत्युको खबर आधिकारिक रूपमा नआए पनि सँगै गएका साथीमार्फत जङ्गलको खोला किनारमा शव भेटिएको भन्दै परिवारसम्म सूचना आइपुगेको हो। 

आठ वर्षसम्म नेपाली सेनाको जागिर खानुभएका रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, थर्पुगाउँका ४० वर्षीय रमेश गौतमको सपनाको देश अमेरिका थियो। सेनाबाट स्वेच्छिक अवकाश लिएर केही समय घर बसेपछि अवैध बाटो हुँदै अमेरिका जानेक्रममा गत कात्तिक २५ मा पानामाको क्यारेबियन सागरमा रमेशको जीवनयात्रा टुङ्गियो। समुद्रमा उनीसहित २५ जना चढेको डुङ्गा दुर्घटना भएपछि सपनाको देशको यात्रा पानामा सागरमै बिलायो।

रमेशसँगै थिए रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–७ का २५ वर्षीय प्रदीप खत्री पनि। पहिलो पटकको अवैध यात्रा असफल भएर बीचबाटै नेपाल फर्केका खत्री दोस्रो पटक अमेरिकी सपना पछ्याउँदै पुनः जाँदा क्यारेबियन सागरमा अस्ताउनु प¥यो। 

अमेरिका यात्रा गर्नेहरूको हुलमा मिसिएका बाँफीकोट गाउँपालिका–३ का २८ वर्षीय रूपक बोहराको पनि गत वर्षको मङ्सिर ११ गते बाटोमै ज्यान गएको थियो। गैरकानुनी रूपमा अमेरिका हिँडेका बोहरा घानामा मलेरियाबाट ग्रसित भएपछि बेलैमा उपचार नपाएर मृत्यु भएको थियो। अलपत्र अवस्थामा रहेका बोहरालाई त्यहाँका नेपालीले उद्धार गरेर अस्पताल पु¥याएको केही दिनमै मृत्यु भएको थियो। श्रीमान् बित्दा काखमा नौ महिनाकी छोरी र दुई वर्षको छोरो रहेको बताउँदै बोहराकी श्रीमती गीता पुरी बोहराले जीवनका कयौँ सपना चकनाचुर भएको बताइन् । सङ्गठित मानव तस्करको भर परेर अमेरिका जानेको सङ्ख्या जिल्लामा बढ्दै गएको छ। अवैध रूपमा अमेरिका जाने लहर चल्दा लाखौँ रुपियाँ डुब्ने जोखिम त छँदैछ, त्यसरी हिँडेकाको प्राण नै नरहने त्रास पनि उत्तिकै छ।

तिर्न नसकिने आर्थिक भार

मदनको परिवारमा एकातिर परिवारको सदस्य गुमाउँदाको चोट छ भने अर्कोतिर थपिएको ऋणभार । भाइलाई अमेरिका पठाउन ४० लाख रुपियाँ खर्च भइसकेको कपिलले जानकारी दिए ।  उनका अनुसार यो सबै रकम ऋण र सापटी गरेर जुटाइएको थियो । 

रमेशको परिवारमा पनि अब तिर्न नसकिने गरी ऋण लागेको छ । बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरी छोडेर अमेरिका हिँडेका रमेशको घरमा आम्दानीको स्रोत छैन, ऋण तिर्न मुस्किल भइरहेको छ । अमेरिका पठाउने भन्दै लाखाँै रुपियाँ लिएको एजेन्टले किरिया खर्च भन्दै पाँच लाख रुपियाँ परिवारलाई दिएको बताइएको छ । 

बाँफीकोटका प्रदीपले दुई पटक गरेर अमेरिका जाने भन्दै लिएको ऋण ५० लाखभन्दा बढी पुगेको छ । बाँफीकोटकै रूपक बोहराको परिवार पनि ४० लाखभन्दा बढी ऋणले थिचिएको छ ।  अमेरिका गएकाको कमाइ र प्रगति देखेर जान लालायित हुनेको सङ्ख्या बढिरहेको छ ।  अवैध बाटोको जोखिम ख्याल नगरेर लाखौँ रकम एजेन्टलाई बुझाउने गरेको पाइएको बाँफीकोट गाउँपालिका–९ की भावना शर्माले बताए । बेरोजगारीको चरम समस्या र अमेरिकाको कमाइ ठूलो देखिने भएकाले अमेरिका जाने लहर चलेको उनको बुझाइ छ । 

जिल्लाका विभिन्न गाउँका युवाले अमेरिका जाने भन्दै अवैध बाटो तय गर्ने गरेका छन्। धेरै जना अमेरिका पुगिसकेका छन् भने कतिपय ब्राजिल, पेरु, मेक्सिकोलगायतका देशमा पुगेका छन् । 

छैन तथ्याङ्क

यहाँका स्थानीय तहसँग भने कति युवा अवैध बाटो भएर अमेरिका जाने गरेका छन् भन्ने यकिन जानकारी र तथ्याङ्क छैन। लुकीछिपी जाने भएकाले स्थानीय सरकारसँग यसको विवरण नभएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए ।  युवालाई स्थानीयस्तरमै रोजगारी सिर्जनाका लागि विभिन्न योजना ल्याएको भए पनि अमेरिकी मोहले यहाँको रोजगारीलाई बेवास्ता गरेको नगरप्रमुख केसीको भनाइ छ । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।