भैरहवाः  मौसमको खराबी तथा यात्रु उपलब्धता नरहेको भन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू स्थगित हुन थालेपछि त्यहाँका पर्यटन व्यवसायीको चिन्ता बढेको छ ।

पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान गरिरहेका जजिरा एयरवेज र हिमालय एयरलाइन्सले आफ्ना उडान रोकेका छन् भने आन्तरिक उडानसमेत नियमित हुन सकिरहेको छैन । जजिराले डिसेम्बरसम्म उडान रोकेको जनाए पनि खराब मौसमका कारण यो समय अझै लम्बिने निश्चित रहेको छ । अहिले भैरहवा तथा यस आसपासको भिजिबिलिटी दुई सय मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे भने आन्तरिक उडान हुने र नभए उडान नै नहुने अवस्था छ ।

उडान अनियमितताकै कारण पर्यटकको भ्रमण बुकिङ गर्न पनि समस्या परिरहेको नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट सङ्घ (नाट्टा)का लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । “पुस, माघ, फागुन पर्यटक घुम्न रुचाउने महिना हो,” पन्तले भनिन्, “यस्तो समयमा उडान नहुने तथा भएका आन्तरिक उडान पनि रद्द हुँदा पर्यटक नमीठो मान्ने गरेका छन् ।” यी सबै समस्याको निराकरणका लागि नागरिक उड्डयन प्राधिकरणले प्रयास गर्नुपर्ने पन्तको भनाइ छ ।

यो विमानस्थलमा विमान अवतरण प्रणाली इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिएको छ । आईएलएस एक सटिक रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानहरूलाई रातमा वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ । अरू बेला एक हजार पाँच सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा आईएलएसको सहयोगमा आठ सय मिटरसम्मको भिजिबिलिटीमा हवाईजहाज अवतरण गराउन सकिने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्याट–२ का लागि पनि तयार गर्न सक्ने गरी लगानी गरिएको छ । पछि क्याट–२ मा लैजान सहज होस् भन्ने उद्देश्यले सोसम्बन्धी केही उपकरण तथा बत्ती अहिले नै जडान गरिसकिएको छ ।

विमानस्थलमा उपकरण अवतरण प्रणाली रहे पनि यो उपयोगमा आउन सकेको छैन । यसको प्रयोगमा भारतीय आकाश पनि प्रयोग हुन सक्ने भएकाले भारतको स्वीकृति आवश्यक पर्ने दाहालले बताए । “आईएलएसमा अवतरण गराउँदा सीमामा रहेको विमानस्थल भएका कारण भारतको पनि केही आकाश प्रयोग हुन सक्छ,” दहालले भने, “यसका लागि भारतको स्वीकृति आवश्यक पर्ने हँुदा माथिल्लो निकायमा कुराकानी हुनुपर्छ ।”

यो विमानस्थल निर्माणपछि यहाँका निजी क्षेत्रले पनि यस क्षेत्रमा उल्लेख्य लगानी गरेका छन् तर पूर्ण रूपमा विमानस्थल सञ्चालनमा नआउँदा यहाँको निजी क्षेत्रलाई चिन्ता थपिएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेका अनुसार भएको सुविधा पनि प्रयोग गर्न नसक्दा अहिले विमानस्थल बन्द रहेको छ । “यत्रो लगानी भइसकेको प्रविधिलाई केही प्राविधिक कारणले गर्दा रोक्न उचित हुँदैन,” न्यौपानेले भने । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।