तेह्रथुमः तेह्रथुमका सबै स्थानीय तहमा नियमित यातायात सेवा सञ्चालन हुन थालेको छ । जिल्लामा २ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेका छन् ।
ती सबै स्थानीय तहका केन्द्रबाट पूर्वी तराईसम्म पुग्ने नियमित सवारी सेवा सञ्चालन हुन थालेको बताइएको छ । हालै आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट सदरमुकाम म्याङलुङ हुँदै धरानसम्म सीधा बस सेवा शुरु भएको छ ।
हिउँदयाम शुरु भएसँगै जिल्लाको मेन्छ्यायेय गाउँपालिका, फेदाप गाउँपालिका र आठराई गाउँपालिकाका केन्द्रबाट सिधै पूर्वी तराईसम्म बस सेवा शुरु भएको हो । जिरीखिम्ती–मोराहाङ सडक १२ वर्षदेखि निर्माणाधीन भए पनि अहिलेसम्म भरपर्दो यातायात सेवा उपलब्ध थिएन ।
हिउँदयाम शुरु भएलगत्तै सडक स्तरोन्नति गरी गाउँपलिका र नगरपालिकाले नियमित बस सेवा सञ्चालन गरेका हुन् । मोराहाङ बजारसम्म नै बस सञ्चालन हुन थालेपछि स्थानीयवासीलाई राहत मिलेको स्थानीय बताउँछन् ।
यसअघि यहाँका बासिन्दा बस चढ्नका लागि झण्डै ३ घण्टा पैदल हिँडेर म्याङ्लुङ आइपुग्ने गरेका थिए । १२ किमी दूरीको जिरीखिम्ती–मोराहाङ खण्डमा पनि अहिले दैनिक बस सेवा सञ्चालन भइरहेको यातायात व्यवसायी डिल्ली रेग्मी बताउँछन् । बस सञ्चालनसँगै मेन्छ्यायेम गाउँपालिकाका मोराहाङ, श्रीजुङ र पौठाक गाउँका बासिन्दालाई समेत सहज भएको छ ।
उनीहरु जिरीखिम्ती बजार र सदरमुकाम म्याङ्लुङ आएर किनमेल गरी एकैदिन घर पुग्ने भएका छन् । जिल्लाको सदरमुकाम म्याङ्लुङ हुँदै लालीगुराँस नगरपालिकाको वसन्तपुर भएर कोशी राजमार्ग हुँदै धरान, विराटनगरसम्म निरन्तर सवारी सञ्चालन हुने गरेको छ ।
स्थानीय तह गठन भएपछि आठराई गाउँपालिका, फेदाप गाउँपालिका र छथर गाउँपालिकामा पनि नियमित सवारी सञ्चालन भइरहेको व्यवसायी बताउँछन् । छथर गाउँपालिकाको शुक्रबारेदेखि दैनिक धरान र विराटनगरसम्म ३ वटा बस सञ्चालन हुने गरेको बताइएको छ ।