खोटाङः ट्याक्टर दुर्घटना हुँदा खोटाङमा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को २ त ५६६० नम्बरको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५ वर्षीय ट्याक्टर चालक मीनप्रसाद लुइँटेल र सोही नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १९ वर्षीय खेमराज भुजेल रहेका छन् ।

सोही ट्याक्टरमा सवार निर्मलीडाँडाकै २१ वर्षीय दुर्गाबहादुर लुइँटेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको बताइएको छ ।

ट्याक्टर सडकबाट करीब २ सय मिटर तल खसेको जनाइएको छ । ट्याक्टर दुर्घटना हुनुको कारण अहिलेसम्म खुल्न नसकेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।