इटहरीः सुनसरीको बराहाक्षेत्र नगरपालिकाले आर्थिक रूपले अति विपन्न परिवारलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यले अति विपन्न ११ सय परिवारको स्वास्थ्य बिमा गरिदिने भएको छ ।
यसैबर्ष नगरसभाबाट स्वीकृत बजेट अनुसार हरेक वडाका एक सय परिवारका दरले स्वास्थ्य बिमा गर्न लागेको नगरपालिकाले जनाएको छ । पालिकाले पुष २० गते बैठक बसेर वडाहरू नाम पठाउन पत्राचार समेत गरी सकिएको छ ।
नगरपालिका भित्र स्थायी बसोबास गरिराखेका अति विपन्न परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम मार्फत स्वास्थ्यको पहुँचमा ल्याउन खोजिएको नगर प्रमुख रमेश कार्कीले बताएका छन् ।
टोल टोलमा रहेका अति विपन्न परिवारको नाम वडा कार्यालयले पुष महिना भित्र नगरपालिका पठाउने र स्वास्थ्य बिमा गर्ने प्रक्रिया अगाडि पढ्ने बताइएको छ ।