इटहरीः इटहरीमा रहेको सनराइज बैंकको शाखा कार्यालयबाट पैसा निकालेर हिँडेका झापा घर भएका शिक्षक तरुण पौडेल पाँच दिन देखि वेपत्ता भएका छन् ।
झापाको अर्जुनधारा वडा नम्बर ८ का तरुण ओखल्ढुंगाको गणेश मावि ढुस्केका माध्यमिक विद्यालयका शिक्षक हुन ।
गत आइतबार इटहरीको सेन्टर प्लाजामा रहेको सनराईज बैँकको शाखाबाट पैसा निकालेर हिडेका तरुण घर फर्किएर नआएको बताउँदै परिवारले बिहिबार(हिजो) जिल्ला प्रहरी कार्यालय सुनसरीमा खोजी दिन आग्रह गर्दै निवेदन दिएका छन् ।
तरुणको खोजीमा लागेका परिवारले उनको अन्तिम मोवाइलको टावर सुनसरीको कोशी व्यारेजको पर्ताहासम्म देखिएको र त्यहाँ पछि नभेटिएको बताउँदै खोजी गरिदिन प्रहरीलाई उनकी सासुआमाले अनुरोध गर्दै बिहिबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवेदन दिइएकी हुन् ।
पैसा निकालेर हिँडेपछि वेपत्ता भएकाले कुनै अपराधिक गिरोहको पन्जामा परेको हुन सक्ने अनुमान गरिएपनि के कसरी वेपत्ता भएको हो त्यसको जानकारी परिवारलाई छैन ।
बैँकले पनि के कति पैसा निकालेको हो त्यसको जानकारी नदिएको पारिवारिक स्रोतले बताएको छ । बैंकको शाखा कार्यालयमा गएर तरुणले कति पैंसा निकाले हो ? भनेर बुझ्न जाँदा बैंकले सुचना दिन नै नमानेको उनका आफन्तले दावी गरेका छन् । यता तीन दिन अघिबाट जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएको भएपनि केही प्रगति नभए पछि परिवार तनावमा परेको छ । जिल्ला प्रहरी कार्यालय यस घटनालाई खासै महत्व नदिएको परिवारको आरोप पनि छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीको मुद्धा फाँटका अधिकारी समिप सुवेदीका अनुसार पनि हालसम्म तरुण कहाँ र कसरी बसेका छन् या के छन् भन्नेबाट केही विवरण आएको छैन । प्रदेश पोर्टलसँगको टेलिफोन सम्पर्कमा सुवेदीले भने ‘मैले आज दिउँसो मात्रै पनि सई सापलाई भनेको छु तर अहिलेसम्म त्यस्तो केही खवर आएको छैन ।’ उनले प्रहरीले निवेदन परेपछि आफ्नो ठाँउबाट खोजी कार्य जारी नै राखेको बताएका छन् ।