इटहरीः प्रहरीले सुनसरी र झापा जिल्लाबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
सुनसरीको धरान–८ भोटेपुलबाट प्रहरीले लागूऔषधसहित सोही थाउँ बस्ने ३७ वर्षीय विशाल विश्वकर्मालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा लागूऔषध स्पास्मोप्रोक्सिभन ५ सय ४ एम्पुल र २ सय ग्राम गाँजा फेला पारेको बताइएको छ ।
बरामद लागूऔषध सहित विश्वकर्मालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।
त्यस्तै, झापाको मेचीनगर–६ शिलापथ्थर होटलबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित शनिबार २ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइनसहित उनीहरूलाई पक्रेको हो । होटल सञ्चालक ४८ वर्षीय लक्ष्मीप्रसाद भट्टराई र भारतको दार्जिलिङ बतासे बस्ने ५५ वर्षीय खेमल मण्डल पक्राउ परेका प्रहरीले जनाएको छ ।
लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले होटलको १०६ नम्बरको कोठामा जाँच गर्ने क्रममा १९ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको थियो । बरामद लागूऔषध सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।