दमकः दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कुलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमुना बालआश्रमलाई सहयोग गरेका छन् । स्कुलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रममा खाद्य सामग्री सहयोग गरेका हुन् ।
कक्षा ७ देखि १० सम्मका १ सय २० विद्यार्थीले मासिक ३० रुपैयाँ सङ्कलन गरी त्यही रकममार्फत् उक्त सहयोग दिइएको बताइएको छ । विद्यालयका अध्यक्ष गङ्गादेव चौधरीले विद्यार्थीसहित शिक्षकबाट सङ्कलित रमकबाट आश्रमका विद्यार्थीलाई खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु र औषधी प्रदान गरिएको बताए ।
सो अवसरमा आश्रममा रहेका बालबालिकाको दन्त परीक्षणसहित औषधिसमेत वितरण गरिएको थियो ।
यस्तै विद्यार्थीको सोही कोषबाट दमक–४ मा रहेको रत्न वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई समेत सहयोग गर्ने तयारी रहेको स्कुलले जनाएको छ ।