फाइल तस्बिर
विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताएका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै राईले यस्तो धारणा राखेका हुन् ।
मुख्यमन्त्री राईले विकास र समृद्धिमा प्रत्यक्ष पहुँच बढाउन राष्ट्रिय परिचयपत्रले मद्दत पुग्ने बताए । मुलुकमा अपराध र भ्रष्टाचार कम गर्न परिचयपत्रले थप बल प्रदान गर्ने उनको भनाइ थियो । प्रविधिको उच्चतम प्रयोग गरी डिजिटल नेपाल बनाउन यो कार्यले अझ मद्दत पुग्ने उनको भनाइ थियो ।
प्रदेश नं १ का मुख्यसचिव केदार न्यौपानेले सरकारले लिएको लक्ष्य पूरा गर्न परिचयपत्र वितरणमा खटिने कर्मचारीले अहोरात्र काम गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दीपक काफ्ले र मोरङका प्रजिअ रमेशकुमार केसीले यस किसिमको प्रणालीबाट दोहोरो सेवा लिने र अपराध गर्ने मनोवृत्ति हतोत्साहित हुने बताए ।
सरकारले आर्थिक वर्ष २०६६÷६७ मा राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यअनुरूप आर्थिक वर्ष २०७४÷७५ मा पूर्वी नेपालको पाँचथरमा १ लाख १० नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । चालु आर्थिक वर्षमा झापामा ४ लाख ८९ हजार १ सय ३४ र सङ्खुवासभामा ९५ हजार ५ सय ४७ जनालाई सो परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको बताइएको छ ।
राष्ट्रिय परिचयपत्रको व्यवस्थापनबाट सूचना प्रणालीमा सहज हुने, गुणस्तरीय सार्वजनिक सेवा प्रदान गर्न सकिने, सेवामा पारदर्शी हुने, सबै प्रकारका सेवामा नागरिकको पहुँच पुग्ने र राष्ट्रिय तथ्याङ्कको अध्यावधिक हुनेजस्ता फाइदा राज्यलाई पुग्ने महानिर्देशक काफ्लेले बताए ।