धनकुटाः भत्किएको सडक मर्मतको लागि सडक विभागले बर्सेनी लाखाँै रुपैयाँ खर्च गर्ने गरेको छ । तर सडकको मापदण्ड विपरीत भएको कार्यप्रति तथा बढ्दो अतिक्रमणप्रति ध्यान नदिइँदा बर्सेनी सडक जीर्ण बन्दै गएको छ । यसतर्फ नियमनकारी निकायले ध्यान दिन सकेको देखिँदैन ।

कोशी राजमार्ग सडक खण्डको विभिन्न ठाउँबाट नयाँ सडक बिस्तार गर्ने बाहनामा सहायक मार्गको ट्रयाक खुल्न थालेपछि राजमार्ग जीर्ण हुनुका साथै कमजोर बन्न थालेको छ । कोशी राजमार्गको भेडेटारदेखि धनकुटाको हिले र तथा तेह्रथुमको टुटे देउरालीसम्म कोशी राजमार्गबाट करीब १ सय वटा सडकको ट्रयाक खोलिएको छ ।

सडक ट्रयाक खोल्दा माटोले नाली पुरिदिने र नालीमा बग्ने पानी सडक माथिबाटै बग्ने गरेका कारण राजमार्गको कालोपत्रेसँगै अन्य संरचना समेत जीर्ण बन्दै गएका छन् । राजमार्गबाट सडक ट्रयाक खोल्दा सडक डिभिजन कार्यालयसँग सम्बन्धित उपभोक्ता समिति वा निकायले स्वीकृति लिनुपर्ने हुन्छ । तर अहिलेसम्म कसैले पनि स्वीकृति लिएका छैनन् ।

स्वीकृति नलिई निर्माण गरेका सडकका कारण मुख्य सडकलाई पुगेको क्षति बराबरको क्षतिपूर्ति सम्बन्धित व्यक्ति वा संस्थाबाट भराउने कानुन रहेको डिभिजन सडक कार्यालय धनकुटाका सूचना अधिकारी अनुप साउदेन बताउँछन् ।

तर कार्यलयले अहिलेसम्म कसैबाट क्षतिपूर्ति भराएको पाइँदैन । सडकलाई क्षति पु¥याउने काम गर्न नदिन राजमार्गक्षेत्रमा पर्ने स्थानीय तहलाई परिपत्र गरेको कार्यालयले जनाएको छ । राजमार्गबाट ट्रयाक खोले पनि नालीमा पक्की ढलान गर्नुपर्ने प्रावधान छ । तर हालसम्म कसैले पनि सो मापदण्ड समेत पूरा गरेका छैनन् ।

त्यस्तै, सडक तथा पुलको भारक्षमताभन्दा बढी सामान बोकेर यातायातका साधन समेत सञ्चालन हुने गरेका छन् । यसको समेत कुनै लेखाजोखा छैन । जसले दिप्रतिदिन सडकको आयु घटाउँदै लगेको छ ।

यता, भत्किएको सडक तथा नालीसमेत समयमै मर्मत नगरिँदा समस्या झन् बढ्दो क्रममा छ । डिभिजन सडक कार्यालयको क्षेत्राधिकारभित्र रहेको सडकमा धनकुटाका ३ र तेह्रथुमको १ गरी ४ वटा स्थानीय तह रहेका छन् । सबै स्थानीय तहमा कुनै न कुनै रूपमा सडकलाई असर पर्ने गरी काम हुने गरेको छ ।

आफ्नो क्षेत्रभित्रको नियमन हुन्छ
आफ्नो क्षेत्राधिकारमा पर्ने राजमार्गभित्र आफूहरूले नियमन गर्ने गरेको धनकुटा नगरपालिकाका प्रवक्ता जमशेर आठपहरिया बताउँछन् । आफ्नो क्षेत्राधिकार भन्दा सडक कार्यालयको जिम्मेवारी बढी रहेको आठपहरियाको भनाइ छ ।

बेलायत सरकारले २०३८ सालमा बनाएको कोशी राजमार्ग अन्तर्गतको धरान धनकुटा खण्डको ५२ किलोमिटर सडक पहाडी क्षेत्रकै उत्कृष्ट सडक मानिन्छ । तर यो सडकखण्ड अहिले जीर्ण बन्दै गएको छ ।

धनकुटाभन्दा माथि हिलेसम्म तथा वसन्तपुर सम्मको सडकको समेत अवस्था उस्तै छ । यही सडक मर्मतको बहानामा कार्यालयले बर्सेनी लाखौ रुपैयाँ विनियोजन गर्ने गरेको छ । तर सडक सुरक्षाको लागि गरिनुपर्ने अनुगमन र कार्यान्वयन नगर्दा सडक जीर्ण बन्दै गएको छ ।
कार्यालयले सडक मर्मतको लागि भन्दा पनि ऐनबमोजिम कार्वाही गर्नुपर्ने देखिन्छ । सडकको मापदण्ड विपरीत काम गर्नेका लागि कार्वाही गर्ने हो भने सडकको सुरक्षा हुनुका साथै मर्मतका नाममा छुट्टिने रकमसमेत बचत हुने स्थानीय बताउँछन् ।