विराटनगरः मोरङ, सुनसरी र झापा जिल्लाको दशगजा क्षेत्रको अतिक्रमण रोक्न नेपाल–भारत सीमा क्षेत्रका सीमा स्तम्भलाई व्यवस्थित गरिने भएको छ ।
नेपाल–भारत ‘फिल्ड सर्भे’ को शनिबार भारतको वीरपुरमा बसेको संयुक्त बैठकमा दुवै देशका प्रशासन तथा सुरक्षा अधिकारीबीच भत्केका सीमास्तम्भ मर्मत गर्ने सहमति भएको हो ।
दशगजा क्षेत्रलाई थप व्यवस्थित बनाउँदै सीमास्तम्भको मर्मत तथा सम्भार गर्ने विषयमा छलफल भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए । हराएका र बिग्रेका सीमास्तम्भ निर्माण गर्ने र दशगजा क्षेत्रबाट अतिक्रमण हटाउने विषयमा समेत सकारात्मक छलफल भएको केसीले जानकारी दिए ।
बैठकमा भारतसँग सीमा जोडिएका नेपालका मोरङ, सुनसरी तथा झापाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धानका प्रमुख, नापी कार्यालयका प्रमुख, जिल्ला वन डिभिजन कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो ।
यसैगरी, भारतको सुपौल, अररिया तथा किसनगञ्ज जिल्लाका डिष्ट्रिक मजिष्टेड तथा भारतीय प्रहरी प्रमुुखसहितको उपस्थिति रहेको केसीले जनाए ।
नेपाल–भारत फिल्ड सर्भे बैठक प्रत्येक ६÷६ महिनामा बस्ने गरेको छ । अर्को बैठक आगामी असारमा विराटनगरमा बस्ने समेत सहमति भएको बताइएको छ ।