विराटनगरः नोबेल मेडिकल कलेजमा पारामेडिकल अध्ययनका लागि आएका नयाँ विद्यार्थीलाई स्वागत गर्नुका साथै अध्ययन सकेर जाने विद्यार्थीलाई बिदाइ गरिएको छ ।

सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्तर्गत डिप्लोमा इन फार्मेसी, ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र सोही सङ्कायमा अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको हो ।

पारामेडिकल कार्यक्रमको दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले कार्यक्रम गरी पहिलो वर्षका विद्यार्थीलाई स्वागत र चौथो वर्षका विद्यार्थीलाई बिदाइ गरेका हुन् । सो अवसरमा नोबेल शिक्षण अस्पतालकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा, प्राचार्य डा.रामहरि घिमिरे, शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला सहभागी थिए ।

विद्यार्थीहरूलाई जनसम्पर्क अधिकृत नारायण दाहाल, आर्थिक विभाग प्रमुख अमिर न्यौपाने, मानव संशाधन विभाग प्रमुख सरोज दाहाल, शैक्षिक विभागका सुरेन्द्र घिमिरे लगायतले खादा लगाएर स्वागत गरेका थिए । त्यस्तै मायाको चिनो दिएर चौथो वर्षका विद्यार्थीलाई बिदाइ गरिएको थियो ।

विद्यार्थीको स्वागत तथा बिदाइको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक शर्माले बिदाइ भएका विद्यार्थीको उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै नयाँ विद्यार्थीलाई मिहिनेत गरी अध्ययन गर्न सुझाव दिइन् । प्राचार्य डा. घिमिरे र जनसम्पर्क अधिकृत दाहालले नयाँ विद्यार्थीलाई अनुशासित भएर कलेजको नियम कार्यान्वयन गर्न आग्रह गरेका थिए ।
nobel swagat & bidai foto  (1) nobel swagat & bidai foto  (2)