इटहरीः उपचार गर्न ल्याइएको १८ दिनको जिवितै शिशुलाई मृत घोषणा गर्ने विराटनगरको कोशी अस्पतालका मेडिकल अफिसर आकाश यादव सहित ३ जनालाई  अस्पताल प्रशासनले निलम्बन गरेको छ । 

विराटनगरस्थित कोसी अस्पतालको इमर्जेन्सीमा उपचार गर्न ल्याएको १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले काम गर्न रोक लगाएको हो । 

 बुधवार बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए । डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरी मृत घोषणा गरेपछि बुधवार अस्पताल दिनभरि तनावग्रस्त बनेको थियो । चिकित्सकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एन आइसियुमा राखेर उपचार भइरहेको छ ।

पछि शिशुका आफन्तले डाक्टरलाई हातपात समेत गरेका थिए ।  घटनाले चर्को रुप लिएपछि अस्पतालले बिहीबार छानबिन समिति गठन गरेको छ । बालरोग विशेषज्ञ डा प्रविण झाको नेतृत्वमा तीन सदस्यीय छानविन समितिले बिहिबारबाटै काम सुरु गरेको छ । छानविन समितिले आफ्नो  अनुसन्धान नसकिँदासम्म डा यादवसहित अहेब लक्ष्मण माझी र टिका भण्डारीलाई काममा रोक लगाएको अस्पतालले बताएको छ ।

 अस्पतालले उपचारमा संलग्नहरुलाई स्पष्टीकरण पनि सोधिएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।

छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने सूचना अधिकारी नेपालले जानकारी दिए । छानबिनबाट चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही देखिए कारबाही गरिने उनले बताए । बुधवार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म डा यादव र अहेब दोय माझी र अधिकारीको डियुटी थियो ।