संखुवासभाः  जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारका एक ब्यक्तिले बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको आफन्तले आरोप लगाएका छन् ।

खाँदबारी–९ तुम्लिङटारका स्थानीय ५९ बर्षीय बलबहादुर श्रेष्ठले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरिक्षक सरोज खनालले बताए । उनको अनुसार, श्रेष्ठले गएराती नै आत्महत्या गरेको जस्तो देखिएको छ तर प्रहरीलाई बिहिबार विहान १० बजे मात्रै खबर आएको हो । मृतकको साथबाट सुसाइट नोट समेत फेला परेको छ, सो सुसाइट नोटमा बैंकले लगातार तनाव दिएकोले आत्महत्या गरेको उल्लेख भएको प्रनि खनालको भनाइ छ ।

घरमा एक्लै रहेका श्रेष्ठ विहान ८ बजेसम्म बाहिर ननिस्किएपछि छिमेकीले खोजतलास गरेका थिए । खोजतलास गर्ने क्रममा घर भन्दा केही पर जंगलमा पासो लगाएको अवस्थामा फेला परेका थिए । त्यसपछि छिमेकीहरु भेला भई प्रहरीलाई खबर गरेका थिए । अहिले मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीको भनाइ छ ।

स्थानीय श्रेष्ठले तुम्लिङटार स्थित प्राइम कर्मसियल बैंकबाट ऋण लिएको र ऋण तिर्न बैंकको कर्मचारीको टर्चर धेरै भएकाले आत्महत्या गरेको आफन्तहरुले आरोप लगाएका छन् । किराना पसल संचालन गर्दै आएका श्रेष्ठलाई बैंकका कर्मचारीहरु दिनहुँ ऋण असुली गर्न दवाव दिन थालेपछि उनी दिक्क बनेको छिमेकीहरुलाई बताउने गरेका थिए । बिहिबार श्रेष्ठले बैंकमा ४५ हजार रुपैया दाखिला गर्नुपर्ने थियो ।

हिजो उनले छिमेकी र साथीभाइसँग सापट गरेर पाँच हजार रुपैया बुझाएका थिए । आज ४५ हजार रुपैया बुझाउनुपर्ने भएकाले आफुसँग पैसा नभएको र बेलुकी सम्म सापट गर्दा समेत ४ हजार ६ सय मात्रै संकलन भएपछि राती घरायसी कारण र बैंकको दवावका कारण आत्महत्या गरेको हुन सक्ने मृतकको सालो देवराज श्रेष्ठको भनाइ छ । भिनाजुले सुसाइड नोट लेख्नुभएको छ, त्यहाँ बैंकको दवावको कारण आफुले आत्महत्याको बाटो रोजेको उल्लेख गरेको सालो देवराजले बताए ।

छिमेकी लक्ष्मीप्रसाद तामाङले श्रेष्ठको घरमा बैंकका कर्मचारीहरु दैनिक ३, ४ पटक आएर दवाव दिने गरेको बताए । मृतकका आफन्त तथा चेम्वर अफ कमर्स संखुवासभाका अध्यक्ष सुमन श्रेष्ठले बैंकको अनावश्यक दवावको कारण बलबहादुर श्रेष्ठले आत्महत्या गरेको आरोप लगाए । उनले बैंकका कर्मचारी दिनहुँ गएर अपमानजनक शब्दहरु प्रयोग गर्ने भएकाले मानसिक रुपमा सहन नसकेर नै मृत्यू रोजेको बताए ।

मृतक श्रेष्ठको श्रीमती, दुई छोरा र एक छोरी छन् । कान्छो छोरा रोशन भारतीय सेनामा कार्यरत छन् भने जेठो छोरा राजु जापान जाने तयारी गर्नका लागि काठमाडौ बस्र्दै आएका छन् । छोरी जापानमा बस्र्दै आएकी छिन् । छोरीले बोलाएर श्रीमती भ्रमणका लागि जापान गएको १५ दिन भएको छ । जेठी बुहारी भोजपुरको दिङ्लामा रहेको क्याम्पसमा कार्यरत रहेकी छिन् । उनी घरमा एक्लै भएको अवस्थामा बैंकको ऋण असुली गर्न नसकेको र छोरी बुहारी र भाइहरुले समेत आफुलाई सहयोग नगरेकाले आत्महत्या गर्न बाध्य भएको ‘सुसाइड नोट’मा लेखेका छन् ।

यता प्राइम बैंक तुम्लिङटारका मेनेजर मुकेशकुमार सिंहले बैंकले दवाव नदिएको ऋण असुली गर्न मात्रै सम्झाएको बताएका छन् ।