इटहरीः सुन्दरहरैंचा– ७ मोरङमा रहेर काम गरिरहेको सामाजिक सेवाका लागि युवा अभियान वाइएसएस नेपालले सुन्दरहरैंचा–७ मा रहेको पञ्चायत माविलाई एक थान पोडियम प्रदान गरेको छ ।
वाइएसएस नेपालका सल्लाहकार संयोजक उमेश उप्रेतीको प्रमुख आतिथ्यतामा भएको पोडियम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद अधिकारीका साथै शिक्षकहरूको उपस्थिति रहेको थियो । संस्थाले देउसी खेलेर सङ्कलन गरेको रकमबाट पोडियम बनाएर विद्यालयलाई दिएको जनाएको छ ।
संस्थाका अध्यक्ष ज्ञाननाथ ढकालका अनुसार देउसी खेलेर सङ्कलन गरेको रकम यसअघि पनि संस्थाले सामाजिक काममा लगाएको थियो । सुन्दरहरैंचा– ७ मा रहेको साजीलाल आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै सोही वडाका आगलागीपीडित गोविन्द दुलालको परिवारलाई आर्थिक सहयोग गरेको ढकालले बताए ।