इटहरी/ जनसंख्याको आधारमा विराटनगरपछि मोरङको दोस्रो ठूलो नगरपालिका सुन्दरहरैंचालाई बुधबार खुला दिसामुक्त नगर घोषणा गरिएको छ । त्यस्तै, पूर्ण खोप सुनिश्चित नगर र साक्षर नगरको घोषणा पनि एकसाथ गरिएको छ ।
सुन्दरहरैंचामा रहेका २१ हजार ७ सय ५१ घरमा शौचालय निर्माण गरी प्रयोगमा आएकाले नगरलाई खुला दिसामुक्त नगर घोषणा गरिएको बताइएको छ । कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत जीवन आचार्यले यस्तो जानकारी दिएका हुन् ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपमेयर धनमाया तामाङले १६ देखि २३ महिना उमेर समूहका सबै शिशुले पूर्ण खोप लगाएका हुनाले नगरलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको बताइन् ।
नगरको १ लाख ३० हजार अनुमानित जनसंख्यामध्ये १५ देखि ६० वर्ष समूहका सबै नगरवासीले तोकिएको मापदण्डअनुसार साक्षरता हासिल गरेकाले पूर्ण साक्षर नगर घोषणा गरिएको मेयर शिवप्रसाद ढकालले बताए ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद भानुभक्त ढकालले नगर खुला दिसामुक्त भएको, पूर्ण साक्षर रहेको र पूर्ण खोप सुनिश्चित भएको औपचारिक घोषणा गरेका थिए । सांसद ढकालले औपचारिक घोषणा गर्नुअघि जिल्ला समन्वय समितिका सभापति, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तथा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखले मेयर ढकाललाई खुला दिसमुक्त, पूर्ण साक्षर र पूर्ण खोप सुनिश्चित नगरको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, प्रदेश सभा सदस्यद्वय राजकुमार ओझा र चुमनारायण तबदारको पनि उपस्थिति थियो ।
पूर्ण साक्षर भन्नाले पढ्न लेख्न सक्ने, सामान्य हिसाब राख्न सक्ने, भित्ते पात्रो हेर्न जान्ने, ट्राफिक चिह्न बुझ्न सक्ने, अंग्रेजीको १ देखि ९ सम्मका डिजिट चिन्न सक्ने लगायतका विविध मापदण्ड पूरा गरेपछि साक्षर नगर घोषणा गर्न सकिने कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा २२ वर्षभन्दा बढी स्वयम्सेविकाको रुपमा खटिने मानकुमारी प्रधान र फूलसरी चौधरीलाई नगद ७० हजार तथा प्रशंसापत्रसहित बिदाइ गरिएको थियो ।
युवाको आपत्ति
नगरलाई खुला दिसामुक्त घोषणा हचुवाको आधारमा गरिएको हुनाले कार्यक्रम रोक्नुपर्ने भनी केही युवाले आवाज उठाएका थिए । आफूले दिएको गुनासोपत्रको सुनुवाइ नभएको उनीहरूले बताए ।