इटहरीः साउदी अरबमा धरानका एक युवकको हृदयघातका कारण मृत्यु भएको छ ।  

 धनकुटा ७ घरभई हाल धरानमा बस्दै आएका मुकेश राईको हृदयघातका कारण मृत्यु भएको हो । उनि करिब १० बर्ष देखि साउदी अरबको पूर्वी प्रान्त खोबर दहरान अवस्थित एउटा प्रतिष्ठित सुपरमार्केटमा काम गर्दै आएका थिए । 

४० बर्षीय उनको गत शनिवार मध्यान्ह करिब १२ः ४० हृदयघातका कारण अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु भएको थियो।

मुकेशले मुटु दुख्नथालेको भन्दै आफ्नो कम्पनीमा आएका अल्मराईका बजार प्रतिनिधि श्रीलंकन् नागरिक लाई आफुलाई अस्पतालसम्म पुर्याईदिन आग्रह गरे तर १० मिनेट को दुरीमा रहेको अश्पताल पुग्ननपाउदै उनको बाटोमै मृत्यु भएको उनकै कम्पनी कार्यरत मेखबहादुर मैनालीले बताए ।

साउदी अरबको एउटा प्रतिष्ठित सुपर मार्केटमा काम गर्दै आएका राईको शवलाई छिटो भन्दा छिटो नेपाल पठाउने कामले तिब्रता पाएको र अबको केही दिनमा शव नेपाल पुग्ने बताइएको छ । राईको एक छोरा र श्रीमती रहेको बुझिएको  छ ।