काठमाडौँः  चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस)सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपियाँको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपियाँको चामल आयात भएको थियो । 

भारतले गत भदौ महिनामा चामलको निर्यातमा लगाएको कर, विदेशी मुद्रा बचत गर्न आयातमा गरिएको प्रतिबन्ध र नेपाल राष्ट्र बैङ्कले एलसी (प्रतीतपत्र)मा नगद मार्जिनको व्यवस्था गरेका कारण चामलसँगै अन्य खाद्यान्नको आयातमा कमी आएको हो । 

आन्तरिक आपूर्तिलाई बलियो बनाउनका लागि भन्दै भारतले गत भदौ महिनामा चामल निर्यातमा २० प्रतिशत कर लगाएको थियो । त्यसको प्रभावले आयातमा कमी आएको छ । 

यो वर्ष धानको उत्पादन बढेकाले पनि आयातमा कमी देखिएको हो । छिमेकी मुलुक भारतबाट ठूलो परिणाममा चामल आयात हुने गर्छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले आयातमा गरिएको कडाइका कारण चालू आर्थिक वर्षको सुरुदेखि नै खाद्यान्न आयातमा कमी आएको बताए । 

भारतले धान र चामलमा कर बढाएका कारण आयातमा कमी आएको उनले जानकारी दिए । नेपालीको खाने बानीमा आएको परिवर्तन, मौज्दात र धानको उत्पादन बढेका कारण पनि आयातमा कमी भएको उनको भनाइ छ । उनले भने, “नेपाली उपभोक्ता पछिल्लो समय भातसँगै अन्य खाद्यान्नको प्रयोग बढी गर्न थालेका कारण खपतमा कमी आई चामल आयात घटेको हुन सक्छ । यसले गर्दा व्यापार घाटामा कमी भई स्वदेशी उत्पादनमा आत्मनिर्भरतर्फ गएको सङ्केत देखिन्छ ।”

विभागका अनुसार छ महिनामा नौ अर्ब ७३ करोड ४९ लाख १० हजार रुपियाँ बराबरको धान र धानको बीउ आयात भएको छ । गत वर्ष सो अवधिमा १० अर्ब ४० करोड ६६ लाख सात हजार रुपियाँको धान आयात भएको थियो । यस्तै मकैको आयातमा पनि कमी आएको छ । चालू आर्थिक वर्षको छ महिनामा आठ अर्ब ८१ करोड ५९ लाख ६६ हजार रुपियाँको मकै आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ११ अर्ब ७१ करोड ९३ लाख ४२ हजार रुपियाँ बराबरको मकै आयात भएको थियो । 

यसै अवधिमा ६६ करोड रुपियाँको गहुँ आयात भएको छ । गत आर्थिक वर्ष तीन अर्ब ४६ करोड ६२ लाख ७६ हजार रुपियाँको गहुँ आयात भएको थियो । गत जेठदेखि भारतले गहुँ आयातमा प्रतिबन्ध लगाएका कारण आयातमा कमी आएको हो । चालू आर्थिक वर्षको छ महिनामा २७ अर्ब ९१ करोड ८२ लाख २४ हजार रुपियाँ बराबरको खाद्यान्न (चामल, मकै, गहुँ, धान, जौ, कोदो) आयात भएको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा ४२ अर्ब ७२ करोड ४५ लाख ७० हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । बर्सेनि खाद्यान्नको आयात बढ्दै गए पनि यो वर्ष सुरुदेखि नै आयातमा कमी हुँदै आएको छ । 

मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको छ ।

खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, फापर) प्रतिव्यक्ति प्रतिवर्ष करिब १८१ केजी आवश्यकता पर्ने गरेकामा यस हिसाबले चामल उपभोग प्रतिव्यक्ति प्रतिवर्ष १२१ केजी पुग्ने देखिएकामा नेपालमा औसत प्रतिव्यक्ति प्रतिवर्ष करिब १३७ केजी उपभोग भइरहेको मन्त्रालयले जनाएको छ । 

चामलको आवश्यक वार्षिक ४० लाख मेट्रिक टन रहेकामा ५५ लाख मेट्रिक टन धानबाट ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुने देखिएकाले अझै वार्षिक चार लाख ८० हजार मेट्रिक टन चामल कमी देखिएको मन्त्रालयले जनाएको छ । भारत, चीन, अर्जेन्टिना, साउथ अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसियालगायतका देशबाट नेपालमा खाद्यान्न आयात हुने गर्छ ।  यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।