विराटचोकः क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसको प्रशासन कक्षमा स्वतन्त्र विद्यार्थी युनियनले लगाएको ताला ३० घन्टा बित्दा समेत खुल्न सकेको छैन ।
प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनबीच वार्ता हुने भनिए पनि वार्ता हुन सकेन । ‘प्रशासन र विद्यार्थी नेताबीच फोनमा कुराकानी भएको छ’, क्याम्पस प्रमुख प्रेमप्रसाद भटराईले भने, ‘पठनपाठका लागि असर नगर्ने भनी विद्यार्थीले बताएका छन् ।’
पुस ६ गते विभिन्न माग राख्दै क्याम्पस प्रमुखलाई स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएको थियो । मागको सम्बोधनका लागि १ हप्ताको अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाए पनि स्ववियुले ३ दिनपछि नै तालाबन्दी गरेको हो । विद्यार्थीको हकहितका लागि काम गर्ने साझा संस्थाले नै पठनपाठनलाई असर पुग्ने गरी ताला लगाएको क्याम्पस प्रशासनले जनाएको छ ।
ब्याडमिन्टनको कोर्ट निर्माण गर्नुपर्ने भनी पटकपटक मौखिक जानकारी गराए पनि क्याम्पस प्रशासनले बेवास्ता गरेको स्ववियु सभापति सन्तोष लिम्बूले बताए । उनले भने, ‘सञ्चालक समितिको बैठकमा समेत क्याम्पसले आफ्ना माग प्रवेश नगराएपछि अल्टिमेटमको अन्तिम मितिभन्दा अगाडि नै ताला लगाउन बाध्य भएका हौं ।’
स्ववियु सभापति लिम्बू भने क्याम्पसले आफूहरूलाई वार्ताका लागि नबोलाएको बताएका छन् । क्याम्पस प्रशासनमा ताला लागेपछि पठनपाठन ठप्प रहेको छ । स्ववियुले आइतबार क्याम्पसमा ताला लगाएको हो । क्याम्पसले वार्ताका लागि नबोलाए पनि स्ववियुले भने वार्ता टोली गठन गरेको जनाएको छ ।
नेवि सङ्घको छुट्टै विज्ञप्ति
नेपाल विद्यार्थी सङ्घ क्याम्पस कमिटीले छुट्टै विज्ञप्ति जारी गर्दै पठनपाठन सुचारु गर्न माग गरेको छ । सभापति विजय तोलाङ्गीद्वारा हस्ताक्षरित विज्ञप्तीमा क्याम्पसमा लागेको ताला खुलाई पठनपाठन गर्न गराउन अनुरोध समेत गरिएको छ ।
अखिलले विज्ञप्तिमा भन्यो, ‘स्ववियुका माग जायज’
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्ववियुले उठाएका मुद्दा जायज भएको भन्दै क्याम्पसले चाँडै सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । अध्यक्ष मिलन बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीका पक्षमा क्याम्पस नभएको आरोप लगाइएको छ ।