फाइल तस्बिर

इटहरीः उर्लाबारी नगरपालिका–७ स्कुल डाँडामा आज साँझ आगलागी हुँदा १ जना महिलाको मृत्यु भएको छ । साँझ साढे ६ बजेको समयमा घरमा रहेको ग्यास लिक भएर आगलागी हुँदा ४५ वर्षीया रीना थापाको जलेर मृत्यु भएको वडाध्यक्ष वीरबल थापाले बताए ।

फुसको छाना भएको घर पूर्ण रूपमा जलेर नष्ट भएको उर्लाबारी वडा नम्बर ७ का वडाध्यक्ष थापाले बताए ।

आगलागीको समयमा घरमा ८४ वर्षीय ससुरा रामबहादुर र बुहारी रीना रहेका थिए । रामबहादुरलाई स्थानीयवासी र प्रहरीले उद्धार गरे पनि बुहारी रीना भने कोठामा चुकुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा ससुरा रामबहादुर र बुहारी रीनासँगै नाति २५ वर्षीय हेमन्त थापा बस्दै आएका थिए । आगलागीको समयमा हेमन्त भने घर बाहिर रहेका थिए ।

आगलागीबाट फुसको छानो भएको र टाटीको बेराले बनेको घर जलेर नष्ट हुँदा ५ लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।