झापा/ विश्व व्यापार संगठनका सदस्यबीच वस्तुहरूको आयात निर्यात गर्दा कुनै वैज्ञानिक आधार बिना रोक लगाउन नपाइने, तर विभिन्न राष्ट्रले आफ्ना राष्ट्रिय मापदण्डहरू तयार गरी लागु गर्न सक्ने बताइएको छ । निर्यात गर्ने देशले सो मापदण्ड पूरा गरेपछि सामान पठाउन मिल्ने सरोकारवालाहरूले बताएका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय विराटनगर र खाद्य क्वारेन्टाइन प्रयोगशाला काँकरभिट्टाले संयुक्त रूपमा आयोजना गरेको एसपीएससम्बन्धी समन्वय तथा अन्तरक्रियामा सहभागी सरोकारवाला निकायका अधिकारीहरूले यस्तो बताएका हुन् ।
आयातकर्ता सदस्यले उचित मात्रामा मिश्रणहरूको प्रयोग भएको छ कि छैन, खाद्यपदार्थ असुरक्षित छ कि छैन, उत्पादनहरू स्वीकार योग्य छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनुपर्ने सहभागी विज्ञहरूको भनाइ छ । कार्यक्रममा कार्यालय प्रमुख सुधाकरप्रसाद सिंहले विश्व व्यापार संगठन र एसपिएस सम्झौताका बारेमा जानकारी गराएका थिए ।
क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका वरिष्ठ क्वारेन्टाइन अधिकृत शुकदेव मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम कार्यालयका प्राविधिक सहायक शिवशंकर मिश्रले सञ्चालन गरेका थिए । कार्यक्रममा पशु क्वारेन्टाइन चेक पोस्ट, सशस्त्र प्रहरी बल नेपाल राजस्व एवम् भन्सार सुरक्षा गुल्म, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रतिनिधिलगायत विभिन्न संस्थाका प्रतिनिधि सहभागी थिए ।