इटहरीः जनकपुरमा सम्पन्न नेपाल जेसीजको ४५ औँ महाधिवेशनबाट इटहरीका महेश पौडेल राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल जेसीजको वर्ष २०१९ का लागि उनी अध्यक्ष चुनिएका हुन् ।

जनकपुरमा सम्पन्न नेपाल जेसीजको ४५ औँ महाधिवेशनमा पौडेलले आफ्ना प्रतिद्वंन्द्वी सुदीप राजभण्डारीलाई ६ सय ५१ मतान्तरले पराजित गरेका थिए । बागलुङ जेसीजका राजभण्डारीले २४० मत ल्याउँदा पौडेलले ८ सय ९१ मत ल्याएका थिए । 

नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षहरूमा जेसी रबीन पोखरेल, जेसी श्यामसुन्दर पौडेल (मिलन) रमेशचन्द्र भुसाल र अमिस ढकाल विजयी भएका छन् । पौडेल विराटनगर जेसीजका र ढकाल गछिया जेसीजका प्रतिनिधि हुन् ।

त्यस्तै, उपाध्यक्षहरूमा लालमणि भुसाल, इनु थापा, गोकुल सापकोटा, मोहनलाल डाँगी, रूकमणी सिग्देल, हरिकुमार शर्मा चयन भएका छन् । त्यस्तै, भोजराज चापागाई, कमल भण्डारी, सुमनकृष्ण श्रेण्ठ, अर्जुन अधिकारी, कृष्णप्रसाद अर्याल र दिनेश बोहरा पनि उपाध्यक्षमा निर्वाचित भएका छन् ।

महाधिवेशनमा अध्यक्षका लागि २ जना, कार्यकारिणी उपाध्यक्षमा ८ जना र उपाध्यक्षमा २० जना प्रतिस्पर्धी रहेका थिए ।

१५ वर्षपछि इटहरी जेसीजले पायो नेपाल जेसीजको नेतृत्व
१५ वर्षपछि इटहरी जेसीजका सदस्य नेपाल जेसीजको नेतृत्व तहमा पुगेका हुन् । सन् २००४ सालको लागि नेपाल जेसीजको अध्यक्ष भएका अर्जुन प्रसाईंले इटहरी जेसीजबाट प्रतिनिधित्व गरेका थिए ।

अर्काे संयोग के पनि परेको छ भने प्रसाईं पनि जनकपुरमा भएको महाधिवेशनबाट नै राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका थिए ।