इटहरीः सुनसरीको धरान उपमहानगरपालिका– १५ घर भई विराटनगरमा डेरा बस्दै आएकी १९ वर्षीया एलिसा खड्काको रहस्यमय मृत्यु भएको छ । खड्काको १८ माघ राती रहस्यमय मृत्यु भएको हो ।

एलिसाको घाँटीमा निलो डाम भएको कारणले उनको मृत्यु रहस्यमय रहेको प्रहरीले आशङ्कामा गरेको छ । घटना रहस्यमय रहेको कारणले प्रहरीले हस्पिटल र्पुयाउने साथी विराटनगर १२ घर भएकी २७ वर्षीय लक्ष्मी राजवंशीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका राजवंशी र मृतक खड्का साथी हुन् । 

मृतक खड्का धरान घर भए पनि लामो समयदेखि विराटनगरमा बस्दै आएकी थिइन् । उनी लक्ष्मीसँग होटलमा काम गर्ने गरेकी थिइन् ।

राती ९ः१५ बजे विराटनगरस्थित कोशी अस्पतालमा ल्याइर्पुयाउँदा खड्कालाई चिकित्सकले मृत घोषणा गरेको थियो । उनीहरू लागू औषध प्रयोगकर्ता पनि रहेको प्रहरीले जनाएको छ ।

माघ १८ गते राती खड्का राजवंशीको घर गएकी थिइन् । उनको घर विराटनगर १२ मा रहेको छ । ‘एलिसा बेहोस भएपछि लक्ष्मीले कोशी अस्पतालमा राती लिएर गएकी थिइन् । अस्पताल ल्याइर्पुयाउँदा चिकित्सकले मृत घोषणा गरेको थियो,’ मोरङ प्रहरीका डिएसपी टिकाबहादुर कार्कीले भने, ‘राजवंशीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।’ पोस्टमार्टम रिपोर्ट नआएसम्म अहिले के कारणले मृत्यु भएको भन्न सक्ने अवस्था नभएको डिएसपी कार्कीले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोट आएपछि के भएर मृत्यु भएको खुल्नेछ ।’

पक्राउ परेकी राजवंशीलाई मोरङ प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । पोस्टमार्टम रिपोर्ट र अनुसन्धानले हत्या भएको देखिए कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीको तयारी छ ।