तेह्रथुमः सोमबार राती तेह्रथुमको फेदाप गाउँपालिकाको वडा नम्बर ३ जलजलेमा मण्डपमै बेहुली कुटिएकी छिन् । बेहुलीको घरमा पुगेर स्थानीय युवाको समूहले आक्रमण गरेको प्रहरीले बताएको छ । उनीहरूको कुटपिटबाट बेहुली प्रतीक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन् ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको बताएको छ । १९ वर्षीय सरोज लिम्बू र सुदीप लिम्बू, १४ वर्षीय ओमन लिम्बू, २१ वर्षीय दिनेश लिम्बू र १७ वर्षीय मन्दीप लिम्बूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको बताइएको छ । घटनामा घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रहरीले जनाएको छ ।