विराटनगरः मोरङको जहदा गाउँपालिका–१ स्थित कालाबन्जरमा दशगजा क्षेत्र अतिक्रमण गरेर भारतीय पक्षले निर्माण गरेको सडक आज भत्काइएको छ ।

भारतले विहारको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत–४ आमगाछी र नेपालतर्फको कालाबन्जरमा सडक निर्माण गरेको थियो । दुवै देशका अधिकारीबीचको सहमतिपछि सडक भत्काइएको हो ।

भारतको वीरपुरमा पुस ७ गते नेपाल, भारत फिल्ड सर्भेको बैठक चलिरहँदा जहदा गाउँपालिका–१ कालाबन्जरमा दशगजा क्षेत्रमा सडक निर्माण गरिएको थियो ।

भारतीय पक्षले दशगजा क्षेत्रमा राती–राती खनेर सडक बिस्तार गरिरहेको सूचना सोमबार मात्रै नेपाली अधिकारीले पाएका थिए । विहारस्थित अररिया जिल्लाका सुरक्षा अधिकारी र मोरङ जिल्लाका सुरक्षा अधिकारीले सडक निर्माणस्थलको संयुक्त अनुगमन गरेपछि भारतीय पक्षले कमजोरी स्वीकार गर्दै भत्काउन थालेको हो ।

निर्माण भएको सडक भत्काउने कामको निरीक्षणको जिम्मा सशस्त्र प्रहरी सुरक्षा बेस बुधनगर र भारतीय सुरक्षा बेस क्याम आमगाछीलाई दिइएको छ । बुधनगरका प्रहरी निरीक्षक भूपबहादुर खड्काले अहिलेसम्म निर्माण भएको सबै सडक भत्काउने काम भइरहेको बताए ।