प्रकाश बन्जारा
इटहरीः धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने धेरै जसो ल्याव टेस्ट गर्न त्यहाँका डाक्टरहरुले निजी ल्यावमा रिफर गर्ने गरेको पाइएको छ ।
प्रतिष्ठानमा रहेका अत्याधुनिक ल्याव टेष्ट मेसिनहरु खराव रहेको त कहिले तत्कालै पालो नआउने भन्दै बिरामीलाई डाक्टरकै सल्लाहामा अस्पताल भन्दा बाहिर रहेका निजी ल्यावहरुमा पठाउने गरेको पाइएको हो ।
बिरामीको जाँच गर्ने क्रममै डाक्टरले ‘यो टेस्ट यहाँ गर्न टाइम लाग्छ बाहिरका फलानो ल्यावमा जानुहोस न भइहाल्छ’ भन्दै रिफर गर्ने गरेको भुक्तभोगीहरु बताउँछन् ।
कतिपय डाक्टरहरु त समय समयमा बिरामी रेफर गरेपछि छोटो ब्रेक लिएर हस्पिटल बाहिर भएको ल्यावमा आफैँ टेस्ट गर्न पुग्ने गरेको समेत प्रत्यक्षदर्शीहरुले बताए ।
नेपालकै पुरानो अस्पतालमा रुपमा चिनिएको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जतिसुकै महंगो र राम्रो मेसिन ल्याएपनि तुरुन्त बिगार्ने र कमिसन आउने लोभमा बाहिरको ल्यावमा रेफर गर्ने पुरानै परम्परा रहेको बताइन्छ ।
मुटु, फोक्सो, लगायतका भित्री शरिरका महंगा टेस्ट गर्न लगाउँदा डाक्टरले नै बाहिरको ल्यावको नामै लिएर फलानो ल्यावमा जानु भन्ने गरेको कतिपय विरामीले बताएका छन् ।
कतिपय डाक्टरले त ‘फलानो ल्यावमा जानु त्यहाँ भइहाल्छ’ भन्दै आफ्नो हस्ताक्षर भएको कागज नै बिरामीलाई थमाउने गरेको प्रत्यक्षदर्शीले बताए ।
बिरामीलाई बाहिरको ल्यापमा रेफर गरेबापत डाक्टर, त्यहाँका ल्याव टेक्निसियन र बाहिरको ल्याव संचालक बिच सेटिङ्ग चल्ने गरेको बुझिएको छ । डाक्टरले बाहिरको ल्यावमा रेफर गरेपावत मोटो रकम कमिसनको रुपमा पाउने र त्यसैको लागि छिटो हुने नाममा बाहिर ल्याव टेस्ट गर्नका लागि रेफर गर्ने गरेको बताइएको छ ।
यता उत्कृष्ट सेवा पाइने भन्दै पेइङ्ग वार्डमा दिने सेवा समेत डाक्टरहरुको स्वार्थका लागि भएको अधिकांश बिरामीहरुको आरोप छ ।
यता वीपीमै भने मुटुको इको, तथा इसिजी गर्नका लागि बिरामीहरुले ४ देखि ५ दिन सम्मको पालो पर्खनु पर्ने गरेको पाइएको छ ।
बिरामीले किन लामो समय इको र तथा इसिजी गर्न पर्खनु पर्ने भन्ने प्रश्नमा प्रतिष्ठानमा निर्देशक जगत नारायण प्रसाद भने बिरामीको अत्याधिक चापका कारण यस्तो भएको बताउँछन् ।
जनशक्ति अभाव तथा बिभिन्न बाहानामा मुटुको इको गर्न डाक्टरबाट सल्लाहा पाएका बिरामीहरुले त्यसैको लागिमात्रै ५ दिन सम्म अस्पतालमा भर्ना गरेर पालो कुर्नुपरेको एक हप्ता आफ्नो बच्चालाई बीपीमा भर्ना गरेर बसेकी बच्चाकी आमा देव कुमारी कोइरालाले बताइन ।
आफ्नो बच्चाको टेस्ट चाँडो गर्न अनुरोध गर्दा डाक्टर नभएको बताएपनि डाक्टर त्यहिँ हुँदा समेत भोली आउनु पर्सी आउनु भन्दै फर्काइले गरेको कोइरालाले गुनासो गरिन ।