इटहरीः श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल (उपसचिव) लाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुख्यसचिव हुनुपर्ने टिप्पणी गरेका छन् ।

सञ्जेललाई छोटो समयमा नै सरूवा गरेको विषयले सोमबार मिडिया र सामाजिक सञ्जालमा बहस सिर्जना भएको थियो । उनले पत्रकार सम्मेलन नै गरेर आफूमाथि अन्याय भएको र बिनाकारण सरूवाको पूर्जी थमाइएको बताएका थिए ।

उक्त समाचारको बारेमा टिप्पणी गर्दै मङ्गलबार भट्टराईले लेखेका छन्, ‘म यी उपसचिवलाई चिन्दिनँ । तर यिनको कुरा सुन्दा यिनी मुख्यसचिव बन्नुपर्ने मान्छे लाग्यो ।’

उनले आफू प्रधानमन्त्री हुँदा एक इमान्दार सहसचिवमाथि पनि यस्तै प्रकृतिको अन्याय भएको स्मरण गरेका छन् । उनले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘यो सरकार कमाउनिष्ट हो कि कम्युनिष्ट ?’