इटहरीः जनकपुरमा सम्पन्न नेपाल जेसीजको ४५ औँ महाधिवेशनबाट इटहरीका महेश पौडेल राष्ट्रिय अध्यक्षमा निवार्चित भएका छन् । नेपाल जेसीजको वर्ष २०१९ का लागि उनी अध्यक्ष चुनिएका हुन् । त्यससँगै इटहरीले १५ वर्षपछी नेपाल जेसीजको नेतृत्व गर्ने मौका पाएको हो ।

वर्ष २००४ का लागि नेपाल जेसीजको अध्यक्ष भएका अर्जुन प्रसाईंले इटहरी जेसीजबाट प्रतिनिधित्व गरेका थिए । संयोगवश प्रसाईं पनि जनकपुरमा भएको महाधिवेशनबाट नै राष्ट्रिय अध्यक्षमा निवार्चित भएका थिए ।

पौडेल नेपाल जेसीजको वर्ष २००६ को इटहरी महाधिवेशनबाट जेसीजमा प्रवेश गरेका हुन् । वर्ष २०११ मा इटहरी जेसीजको अध्यक्ष भएका उनी २०१२ मा नेपाल जेसीजको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । २०१४ मा कार्यकारिणी उपाध्यक्ष भएका पौडेल २०१८ को भैरहवा अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थिए ।

वर्ष २०१९ को लाग पौडेलले आफ्ना प्रतिद्वंन्द्वी सुदीप राजभण्डारीलाई ६ सय ५१ मतान्तरले पराजित गरेका हुन् । बाग्लुङ जेसीजका राजभण्डारीले २ सय ४० मत ल्याउँदा पौडेलले ८ सय ९१ मत ल्याएका थिए ।

त्यस्तै, नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षहरूमा रविन पोखरेल, श्यामसुन्दर पौडेल (मिलन), रमेशचन्द्र भुसाल र अमिष ढकाल विजयी भएका छन् । त्यसमध्ये श्यामसुन्दर पौडेल र अमिष ढकाल प्रदेश १ बाट विजयी भएका हुन् । पौडेल विराटनगर जेसीजबाट प्रतिनिधित्व गर्छन् भने ढकाल गछिया जेसीजबाट ।

ढकाल गछिया जेसीजका संस्थापक कोषाध्यक्ष हुन् । २०१६ मा कार्यकारिणी उपाध्यक्ष भएका उनी २०१७ मा गछिया जेसीजको अध्यक्ष भएका थिए । २०१८ को भैरहवा अधिवेशनबाट उपाध्यक्षमा विजयी भएका ढकाल जनकपुर महाधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै, उपाध्यक्षहरूमा लालमणि भुसाल, इनु थापा, गोकुल सापकोटा, मोहनलाल डाँगी, रूकमणी सिग्देल, हरिकुमार शर्मा चयन भएका छन् । भोजराज चापागाई, कमल भण्डारी, सुमनकृष्ण श्रेण्ठ, अर्जुन अधिकारी, कृष्णप्रसाद अर्याल र दिनेश बोहरा पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । महाधिवेशनमा अध्यक्षका लागि २ जना, कार्यकारिणी उपाध्यक्षमा ८ जना र उपाध्यक्षमा २० जना प्रतिस्पर्धी रहेका थिए ।