बेलबारीः उद्योग, पर्यटन तथा वन र वातावरण मन्त्रालय प्रदेश नं १ का सचिव बद्रीराज ढुङ्गानाले वन समूहहरूको उद्देश्य भनेकै उपभोक्ताहरूलाई सरल र सुलभ रूपमा वनवैदावर सामग्री उपलब्ध गराउने रहेको बताएका छन् ।
बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्न बेलबारी पुगेका सचिव ढुङ्गानाले सो कुरा बताएका हुन् ।
बेलबारी नगरपालिकामा रहेको तमू बौद्ध गुम्बामा आयोजित वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गानाले साझेदारी र सामुदायिक बीचको विवादमा नअल्झिन उपभोक्ता र उपभोक्ता समूहका पदाधिकारीलाई आग्रह गरे ।
दुवै प्रकारको वनको उद्देश्य उपभोक्तालाई सरल रुपमा वन वैदावर सामग्री उपलब्ध गराउने नै भएको हुनाले विवाद गर्न नहुने उनको भनाइ थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, वन विज्ञान केन्द्र विराटनगरका निर्देशक रामकाजी श्रेष्ठ, डिभिजन वन कार्यालय मोरङका डिभिजनल प्रमुख विशाल घिमिरे, साझेदारी वन महासङ्घ प्रदेश नं १ का अध्यक्ष प्रकाश पौड्याललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सुवेदीले सामुदायिक वन र साझेदारी वनको बीचमा केही विवाद देखिएको तर यो विवाद समाधान गर्न सक्ने किसिमको भएको बताए । नीति र ऐनका कारणले भएको विवाद त्यसको पूर्णतासँगै साम्य हुने उनको भनाइ थियो ।
जिल्ला डिभिजन वन कार्यालयका मोरङका डिभिजनल प्रमुख विशाल घिमिरेले साझेदारी वनको अवधारणा भनेको वनसँग जोडिएका लागि मात्र नभएर वनक्षेत्रदेखि टाढा रहेका उपभोक्ताहरूलाई पनि वनपैदावरमा सहभागिता गराउने कार्यक्रम भएको बताए ।
उनले साझेदारीको अवधारणाले उत्तर दक्षिणमा रहेका सबै उपभोक्तालाई जोड्ने बताए । समितिमा रहेर काम गर्नेले वन व्यवस्थापन तथा वितरणमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
सो अवसरमा अमना सिसौली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लीला आचार्य, साझेदारी वन महासङ्घ प्रदेश नं १ का अध्यक्ष प्रकाश पौडेल, वन अनुसन्धान केन्द्रका विराटनगरका निरीक्षक रामकाजी श्रेष्ठलगायतले आफ्ना विचार राखेका थिए ।
अधिकांशले सामुदायिक र साझेदारी वनबीचको विवादले वन व्यवस्थापनमा केही अलमल पैदा गरेकाले यो विवादलाई चाँडो सुल्झाउन आग्रह गरेका थिए ।
साझेदारी वनका व्यवस्थापन समूहका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बेलबारी चिसाङ साझेदारीका सदस्य सचिव एवम् वन अधिकृत विक्रम अमात्यले गरेका थिए ।