सङ्खुवासभाः सङ्खुवासभाको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले जथाभावी र अस्वाभाविक रुपले हुने सरुवाले गर्दा कार्यसञ्चालन प्रणाली नै लथालिङ्ग भएको बताएका छन् ।

स्थानीय तह कुनै काम गर्नको लागि तत्पर भए पनि मुलुकको प्रणालीले गर्दा स्थानीय तह अलमलमा परेको उनले बताए । खाँदबारी नगरपालिकाको आयोजनामा स्वास्थ्यसम्बन्धी पत्रकार र स्वास्थ्यकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर खतिवडाले यस्तो बताएका हुन् ।

मेयर खतिवडाले आफूहरूको पहलमा सङ्खुवासभा यस वर्ष स्वास्थ्य बीमाको कार्यक्रम लागू गर्ने जिल्लामा परे पनि काममा भने ढिलाइ भएको बताए । आफूले पटकपटक बीमा क्षेत्रका व्यक्तिसँग कुरा गर्दा पनि केन्द्रमा पटकपटक सम्बन्धित क्षेत्रका व्यक्तिको सरुवाले गर्दा समस्या भएको प्रदेशले जानकारी दिएको उनले बताए ।

‘यसरी देशको सिस्टम अल्मलिएकाले आफूहरूलाई सजिलो भएको छैन,’ उनले थपे, ‘यतिबेला मुलुक सङ्क्रमणकालीन अवस्थामा छ । त्यसैले सबै ठाउँमा समस्या नै समस्या छ । देशको सिस्टम अल्मलिएको छ ।’

स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर नगरपालिका अघि बढेको उनले बताए । आफूले निर्वाचनपछिको पहिलो बैठकमा नै नगरपालिका स्वास्थ्यको क्षेत्रमा संवेदनशील भएर अघि बढ्ने निर्णय गरेको भन्दै उनले ‘एक वडा, एक स्वास्थ्य संस्था’को नीति पूरा हुन लागेको बताए ।

मेयर खतिवडाका अनुसार अहिले नगरपालिकाका ११ वडामध्ये वडा नं ८ मा बाहेक सबै वडामा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । नगरपालिकाको वडा नं १ मा जिल्ला अस्पताल रहेको छ । वडा नम्बर ८ मा पनि छिटै स्वास्थ्य संस्था स्थापना गर्ने तयारी गरिएको खतिवडाले जानकारी दिए । उनले भने, ‘सकेसम्म यसै वर्ष नभए पनि आगामी वर्षसम्ममा सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्ने तयारी छ ।’

मेयर खतिवडाले नगरपालिकाभित्र आँखा, हाडजोर्नी तथा विभिन्न रोगसम्बन्धी विशेषज्ञ चिकित्सक ल्याएर नै स्वास्थ्य शिविर आयोजना गर्ने कार्यतालिका बनिसकेको बताए ।

खतिवडाले सबै स्वास्थ्य संस्थामा कर्मचारीको पनि व्यवस्थापन गरिसकिएको र गर्भवती महिलाको स्वास्थ्यमा ध्यान दिँदै सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको स्थापना गरिएको बताए । भौतिक पूर्वाधार निर्माण गर्नु मात्रै विकास नभएर जनताहरू स्वास्थ्य, शिक्षा र सूचनाको पहुँचमा पुग्नु पनि विकास भएको खतिवडाले टिप्पणी गरे ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. अमूल्य दाहालले स्वास्थ्य केन्द्र स्थापना मात्रै ठूलो विषय नभएर यसलाई टिकाउनु महत्वपूर्ण हुने बताए । उनले भने, ‘नगरपालिकाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव भएर जिल्ला अस्पताल धाउनुपर्ने अवस्था आउन नदिन प्रतिबद्ध छौँ ।’

कार्यक्रममा नगरपालिकाका केही स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिले औषधिको अभाव भएको बताएका थिए । उनीहरूले औषधिको कुरा गर्दा जिल्ला जनस्वास्थ्यले नगरपालिका र नगरपालिकाले जिल्ला जनस्वास्थ्यलाई देखाएको भन्दै गुनासो गरे । नगर स्वास्थ्य प्रमुख डा. दाहालले औषधि खरिद प्रक्रिया अघि बढेकाले चाँडै समस्या समाधान हुने बताए ।