भोजपुरः आधुनिक बाजाको आगमनसँगै पराम्परागत रूपमा बजाइने मौलिक लोक संस्कार र संस्कृति बोकेका पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । विवाह तथा विभिन्न समारोहमा बजाइने पञ्चेबाजा पछिल्लो समयमा आएर लोप हुन थालेको छ ।
जिल्लामा विगतमा सयौँको सङ्ख्यामा रहेका यस्ता वाद्यवादक अहिले सीमित मात्रामा रहेका छन् । नेपालीको मौलिकता झल्काउने पञ्चेबाजा बजाउने सीप सिक्न युवा पिढीले नचाहँदा बाजा नै लोप हुने अवस्थामा पुगेको टेम्केमैयुङ–३ अन्नपूर्णका नीरबहादुर परियार बताउँछन् ।
उनी विगत ६० वर्षदेखि पञ्चेबाजा बजाउँदै आएको छन् । ‘पछिल्लो समय विभिन्न खाले आधुनिक शैलीको बाजाका कारण हाम्रो पुख्र्यौली बाजा बजाउने पेशा हराउँदै गएको छ’, उनी भन्छन्, ‘अहिले युवायुवतीले बाजा बजाउन नचाहने गरेकाले बाजा नै सङ्कटमा परेको छ ।’ पहिले पञ्चे बाजा बजाउनेको सङ्ख्या धेरै भए पनि अहिले आफ्नो गाउँमा ५÷६ जना पाको उमेरका व्यक्ति मात्रै भएको उनले बताए ।
अहिले गाउँघरमा पञ्चे बाजा नै पाउन कठिन छ । विगतमा विभिन्न बाजाको निर्माण स्थानीयस्तरमा हुने गरेको भए पनि यतिबेला त्यस्ता खालका बाजा बनाउने सीप भएका मानिस नभएपछि बाजा लोप हँुदै गएको स्थानीयवासी बताउँछन् ।
स्थानीय सरकारसँगै राज्यले नै पञ्चेबाजाको संरक्षण गर्नुपर्ने बलबहादुर परियार बताउँछन् । सरकारले कुनै नीति तयार गरेर संरक्षण नगरे अर्को पुस्ताले यी बाजा बजाउने सम्भावना नरहेको उनी बताउँछन् । सीमित जाति समूहले मात्र यो बजाउने गरेकाले पनि लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।