इलामः इलाम जिल्लामा कफीको व्यावसायिक खेती शुरु हुन थालेको छ ।
इलामको माइजोगमाईका कफी किसान गञ्जु प्रधान वार्षिक तीन देखि चार सय मन कफी उत्पादन गर्छन् । कफीबाट राम्रो आम्दानी हुने बुझेपछि अन्य खेतीलाई विस्थापन गरेर कफी शुरु गरेको उनी बताउँछन् । कफीको बिक्रीसमेत आफैँ गर्दै आएका प्रधानले गाउँघरमा कफी खेतीका बारेमा जानकारी समेत दिँदै आएका छन् ।
तालीम तथा दक्षजनशक्ति भएमा खेती गर्न सहज हुने अर्का कफी किसान दीप लामा बताउँछन् । इलामको कफी काठमाडौंमा पनि बिक्री हुने गरेको छ । २० वर्षअघि इलामको केही ठाउँमा कफी लगाइए पनि उत्पादनले राम्रो भाउ नपाउँदा खेती विस्तार हुन सकेको थिएन ।
विश्व बजारमा नेपाली कफीको माग बढेसँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा ठूलो क्षेत्रमा कफी लगाइएको चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारी बताउँछन् । नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन भएको कफीको राम्रो माग रहेको अधिकारीले बताए ।
नेपालमा अरबिगा जातको कफी लगाइने गरेको छ । समुद्री सतहबाट ८ सयदेखि १ हजार ६ सयसम्मको उचाइमा कफीको राम्रो उत्पादन हुने गरेको छ । प्रमुख अधिकारीका अनुसार नेपालमा ५ सय मेट्रिक टन कफी उत्पादन हुन्छ भने विश्व बजारमा यहाँको ७ हजार टन कफीको माग छ ।
नर्सरीबाट बगैँचामा लगाएको तीन वर्षपछि फल्न शुरु हुने कफी रोपेको ५० वर्षसम्म उत्पादन हुन्छ । एउटा बोटमा वर्षेनी पाँच÷सात किलोसम्म कफी फल्छ । अहिले प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा कफीको दाना बिक्री हुने गरेको छ ।