भोजपुरः भोजपुरको टेम्के मैयुङ गाउँपालिका वडा नम्बर ८ गोगनेदेखि भोजपुर सदरमुकामसम्म सोमबारदेखि बस सञ्चालनमा आएको छ ।
२०६७ सालमै सडक सञ्जालले जोडिएको भए पनि हालसम्म बस सञ्चालन हुन सकेको थिएन । सो बाटमोमा ल्याण्डरोभर चल्दै आएका थिए । साना यातायातका साधन चले पनि नियमित रुपमा बस नचल्दा त्यस क्षेत्रका नागरिक जोखिम मोलेर ट्याक्टरमा समेत सदरमुकाम आवजावत गर्ने गर्दथे । ल्याण्डरोभर नपाइने र पाए पनि भाडा ज्यादै महङ्गो भएकाले सर्वसाधारणले यात्रा गर्न असहज भएको थियो ।
वडाध्यक्ष कृष्णबहादुर बानियाँको पहलमा बस व्यवसायीसँग समन्वय गरी सोमबारदेखि नियमित बस सञ्चालनमा ल्याइएको हो । सो सडक बिस्तारका लागि आर्थिक वर्ष २०६७÷०६८ मा स्थानीय बासिन्दाले न्यूनतम ६ हजारदेखि २ लाख रुपैयाँसम्म चन्दा उठाई सडक बिस्तारमा लागि परेका थिए । तत्कालीन गाविस तथा जिविसको समेत आर्थिक लगानी भएको थियो ।
त्यसबेला सडकलाई ऋण दिएर चन्दा उपलब्ध गराउने कतिपय सर्वसाधारण जनताको रकम अहिलेसम्म पनि ऋणमै रहेको तत्कालीन चन्दादाताको गुनासो रहेको छ ।
आफ्नै लगानीबाट सडक विस्तार गरेका स्थानीयले सडकको नियमित उपयोग गर्न नपाउँदा आफ्नो लगानी बालुवामा पानी हालेजस्तै भएको भन्दै गुनासो गर्दै आएका थिए ।
सोमबार सिक्तेल यातायातको बस गोगने भित्रिएसँगै बस व्यवसायी रमेश राई, बसका चालक चन्द्र श्रेष्ठ तथा सहचालकलाई स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा सर्वसाधारणले फूलमालाले स्वागत गर्दै नियमित सेवा दिन बस व्यवसायीलाई अनुरोध गरेका थिए । बस व्यवसायीले पनि नियमित सेवा दिने प्रतिबद्घता व्यक्त गरेका थिए ।
बस सेवा गोगने हँुदै टेम्केमैयुङ गाउँपालिकाको वडा नम्बर ९ लेखर्कसम्म लाने योजना रहेको बस व्यवसायी रमेश राईले बताए । गोगनेको ओखरबोटेदेखि भोजपुरसम्मको भाडा ३ सय ३० रुपैयाँ र गोगनेदेखि भोजपुरसम्मको भाडा ३ सय रुपैयाँ तोकिएको छ । यसअघि ल्याण्डरोभरमा ओखरबोटेदेखि ६ सय र गोगनेदेखि ५ सय ५० रुपैयाँ भाडा तोकिएको थियो ।