विराटनगरः लामो प्रतीक्षापछि नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन (प्रिमियर शो) आज शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो ।

 विराटनगरका कलाकारहरु बाहुल्य रहेको यो चलचित्र २०७७ सालको नयाँ वर्षमा प्रदर्शनी (रिलिज)को तयारी भए पनि कोरोना कहरले रोकिएको थियो । पछि नयाँ नेपाली चलचित्रहरुको बीचमा ‘म पर्खिरहन्छु’ले प्रथम प्रदर्शनीको लागि समय मिलाउने क्रममा आज (शनिबार) प्रथम प्रदर्शनी  विराटनगर–८ हाटखोलास्थित आरके महलमा गरिएको थियो ।  तीन दर्जन बढी नयाँ चलचित्रसँगै ‘म पर्खिरहेछु’ पनि प्रदर्शनीको पर्खाइमा थियो ।  

नेपाली र मैथिली गरी एक दर्जन बढी चलचित्र निर्देशन गरिसकेका सन्तोष सरकारको कथा, सम्वाद (पटकथा), निर्देशन रहेको ‘म पर्खिरहेको छु’ को निर्मात्री बबिता श्रेष्ठ हुन् ।

DSC08754

नेपाली युवाले भोगेको वास्तविक घटनामा आधारित वियोगान्त कथा रहेको ‘म पर्खिरहेछु’ मा भूपेन्द्र रायमाझी र नषराज घिमिरेको संगीत छ । कथामा वैदेशिक रोजगारीले पारिरहेको सामाजिक समस्या, पारिवारिक विचलन पाइन्छ  र यस्तो अवस्थामा समाजलाई सही मार्ग लैजानका लागि गरिएको प्रयास देखिएको छ ।  

‘म पर्खिरहेछु’ का प्रमुख कलाकारहरुमा विनोद श्रेष्ठ, कल्पना भट्टराई, पुष्प श्रेष्ठ, प्रवलदीप विश्वास, शारदा आर्यन, प्रमोद श्रेष्ठ, दिनेश कोइराला, डीबी बस्नेत, विनोद दुगड, कृष्ण सुवेदी र महेश सहनी छन् । बाल कलाकारमा बेदिका श्रेष्ठ र शीतला सरकार छन् ।

यस चलचित्रमा डा विनोद श्रेष्ठ र सुरेश वैद्यको गीतमा रामा मण्डल र मनिषा पोखरेलले स्वर दिएका छन् । कोशी भिजन फिल्म प्रोडक्सन इटहरीको व्यानरमा निर्माण गरिएको ‘म पर्खिरहेछु’ मा राजेश लेप्चा र नविन राईले द्वन्द्व निर्देशन र हेमन्त योञ्जनले सम्पादन छ ।

पूर्वको प्रमुख शहर विराटनगर, इलाम,  इटहरी, धरान, धनकुटालगायत पर्यटकीय स्थल जेफाले, डाँडाबजार, कोशी व्यारेज, श्रीअन्तुमा छायाङ्कन गरिएको यस चलचित्रको क्यामराम्यान यज्ञ पराजुली र सुमन तामाङ छन् ।

दुई घण्टा १५ मिनेट समयको यस चलचित्रको सम्पादन गुञ्जन स्टुडियो काठमाडौंमा र अन्तिम सम्पादन म्युजिक हब पोष्ट प्रोडक्सन स्टुडियो ओशीवारा, अन्धरी वेष्ट मुम्बईमा गरिएको अभिनेता डा विनोद श्रेष्ठले जानकारी दिए ।

DSC08811