इटहरीः राजनीतिक चपेटाको मारमा परेको पूर्वाञ्चल विश्वविद्यालयमा केही सुधारका सङ्केत देखिन थालेका छन् । मोरङको सुन्दरहरैंचाको गोठगाउँमा रहेको विश्वविद्यालय सुधारोन्मुख देखिन थालेको हो ।

८ सय ५ बिघा जग्गामा रहेको विश्वविद्यालयमा १ सय बिघा क्षेत्रमा भवन तथा संरचना बनाइएका छन् । तर त्यसको व्यवस्थापन हुन नसक्दा हरेक संरचना अस्तव्यस्त बनेका छन् । विश्वविद्यालय गोठगाउँमा भए पनि प्रशासनिक कार्यालय विराटनगरमा भएपछि त्यसको निगरानी र हेरचाह हुन सकेको छैन । उपकुलपति र रजिस्ट्रारको चासो सेवासुविधामा मात्र केन्द्रित भएसँगै विश्वविद्यालय अस्तव्यस्त बनेको हो ।

कर्मचारीको प्रबन्ध नहुँदा र व्यवस्थापन पक्ष फितलो बन्दा अस्तव्यस्त बनेको विश्वविद्यालयले नयाँ जीवन पाउन शुरु गरेको छ । पछिल्लो समय मेडिकल विभागमा भने केही सुधारका सङ्केत देखा पर्न थालेका छन् । वरपरका झार जङ्गल फँडानी गर्नेदेखि नियमित सरसफाइ हुने भएपछि विश्वविद्यालय आकर्षक देखिन थालेको हो ।

मेडिकल विभागमा औषधी र बिरामीको अभाव भइरहेको अवस्थामा बिस्तारै बिरामी पनि आउन थालेका छन् । मेडिकल विभागका निर्देशक विपेश अचार्यका अनुसार प्रशासनिक र प्राविधिक सुधारको पाटो महत्वपूर्ण भएकाले सो काम पनि भइरहेको छ ।
लामो समय रिक्त रहेको कर्मचारीको दरबन्दी पूर्ति गर्ने काममा विश्वविद्यालय लागेको आचार्यको भनाइ छ । गत भदौबाट जिम्मेवारी पाएका आचार्यले कर्मचारीको सेवासुविधा बढाउनु, डाक्टरको उपस्थितिलाई नियमित गराउनु र प्रशासनिक रूपमा अनियमितताको अन्त्य गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

मेडिकल शिक्षाको लागि आवश्यक संरचना निर्माण भइरहेको उनको भनाइ छ । विश्वविद्यालयको छिमेकी गाउँबाट पनि उपचारको लागि धरान र विराटनगर जानुपर्ने बाध्यताको अन्त्य गर्ने काममा आफू लागेको उनले बताए । केन्द्रीय सरकारको मातहतमा विश्वविद्यालय रहेकाले हरेक कामको लागि केन्द्रकै मुख ताक्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘समस्याको पहिचान भइसकेको छ । अब समाधानको उपायतिर हामी अघि बढिसकेका छौँ,’ उनले भने, ‘धेरै त नभनौँ अबको एक वर्ष भित्रमा विराटनगर र धरानको भन्दा राम्रो उपचार सुविधा पूर्वाञ्चल विश्वविद्यालयमा पाइन्छ ।’