धरानः धरानको पुरानो सुकुटी बजारमा ग्राहक आउन छाडेपछि व्यावसायीहरु व्यावसाय नै छोड्ने तरखरमा पुगेका छन् ।
धरानको भानुचोक नजिकै रहेको धरान २ को बजारमा लामो समयदेखि सुकुटी बेचेर व्यावसाय गर्दै आएका व्यावसायीहरु पछिल्लो समयमा ग्राहकको चाप घटेपछि व्यापार बाटै पलायन हुने अवस्थामा पुगेका हुन ।
नेपालमा मात्रै नभएर विदेशमा समेत निकै लोकप्रिय मानिएको धरानको सुकुटी महङ्गीकै कारण पछिल्लो समय विक्न छाडेको व्यावसायीहरुको भनाई छ ।
धरान बजारमा विगत ७ बर्षदेखि सुकुटी व्यापार गर्दै आएको धरान २ का मान बहादुर तामाङ्ग अहिले पनि सुकुटी बेच्दैछन् तर कुनै समय ३२ जना सम्म कामदार राखेर सुकुटीको व्यावसाय गर्ने मान बहादुरलाई अहिले घरकै परिवारलाई पुग्ने काम समेत छैन । कुनै समय सुकुटीबाट मालामाल कमाउने मान बहादुर अहिले व्यापार नै नभएपछि कामदार सबैलाई विदा दिएका छन् भने घरका परिवारनै मिलेर घरमै सुकुटी बनाउने काम गर्छन । तर कुनै बेला दैनिक ५० किलो भन्दा बढी सुकुटी बेच्ने मान बहादुर अहिले मुस्किलले ८ किलो देखि १० किलो सम्मको व्यापार गर्छन । ‘पहिला सस्तो भएका कारण निकै ग्राहकहरु आउँथे अहिले किनेर खाने अवस्था समेत नभएपछि व्यापार घटेको छ।’ मान बहादुरले सुनाए ।
धरानमा उत्पादन भएको सुकुटी धरानमा मात्रै नभएर बेलायत, हङ्गकङ्ग, तथा अन्य ठाउँमा बसेका लाहुरेहरुले मन पराउने भएकाले ठुलो मात्रामा विदेश जाने गर्दथ्यो तर अहिले विदेश जाने सुकुटीको मात्रा समेत घटेको छ । विदेश जाने तर्फको व्यापार त घटेको छ नै स्वदेशमा खपत हुने मात्रा त ह्वात्तै घटेर व्यावसायीहरु नै पलायन हुने अवस्थामा पुगेका छन् ।
एउटा होटलको अगाडी सानो ठाउँमा सुकुटी बेच्ने मान बहादुरले मासिक १० हजार भाडा तिर्छन । व्यापार नहुँदा भाडा तिर्न समेत धौ धौ परिरहेको तामाङ्ग सुनाउँछन् ।
लामो समय देखि गर्दै आएको व्यावसाय ह्वात्तै घट्नुको पछाडी महंगी नै मुख्य कारण रहेको विगत १० बर्षदेखि धरानको सोहि बजारमा सुकुटी व्यावसाय गर्दै आएकी सुशिला तामाङ्ग बताउँछिन् ।
मंहंगी बढेपछि राँगाको मुल्य बढ्नु राँगाको मुल्य बढेसँगै मासु सम्बद्ध कामदार र उत्पादन खर्च समेत बढेको र सोहि कारण सुकुटीको मुल्यमा समेत वृद्धि भएको छ ।
कुनै समेय २ सय देखि २ सय ५० रुपैँया पावा पर्ने सुकुटीको मुल्य अहिले प्रति केजी १७ सय देखि लिएर २्र३ सय सम्म पर्ने गरेको छ । प्रतिकेजी २३ सय पर्ने सुकुटी भने धेरै विदेश पठाउने गरेको सुशिला सुनाउँछिन् तर विदेश जाने सुकुटीको मात्रा समेत पछिल्लो समयमा घटेको उनको भनाई छ ।
धरानको मुटु भानुचोकमा रहको घण्टाघर पछाडी पाइने सुकुटीको व्यापार घटेपछि व्यावसायीको संख्या पनि ह्वात्तै घटेको छ । पहिला पहिला ४० जना सम्म सुकुटी बेच्ने व्यापारी हुने सो ठाउँमा अहिले मुस्किलले १० देखि १२ जनाले मात्रै सुकुटी बेच्ने गरेका छन् ।
राँंगा उत्पादन गर्ने देखि लिएर मासु व्यावसायमा लाग्ने सबै परनिर्भर हुँदै गएपछि मंहगी बढेको र सोही महंगी बढेका कारण बिक्रिमा कमी आएको व्यावसायीको भनाई छ ।