सोलुखुम्बुः सोलुखुम्बुका ३ वटा गाउँपालिका जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण हुने भएको छ ।

पुस ५ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले सोताङको पावै र थुलुङ–देउसा जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेपछि स्थानीयवासी खुशी छन् । कोशी पारीका साबिक ५ वटा गाविस पावै, सोताङ, बुङ, छेस्काम र गुदेलमा ३ वर्ष अगाडि नै सडक सञ्जाल पुगिसकेको छ ।

गत वर्षदेखि ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको भए पनि सहज नभएको सवारी चालक बताउँछन् । नदीमा १६ वटा ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको थियो । तर पानी बग्ने सबै क्षेत्रमा ह्युमपाइप नहुँदा आधा भाग पानीबाटै गाडी चलाउनुपर्ने अवस्था थियो ।

दिप्लीघाटमा बेलिब्रिज निर्माणका लागि प्रदेश सरकारले ४६ लाख रुपैयाँ बजेट छुट्याएको बताइएको छ ।