इटहरीः  धरान एक्स्पो २०७९ मा शारिरिक अपांगता भएका व्यक्तिहरुले निर्माण गरेका हस्तकलाका सामाग्रीहरुले राम्रो बजार लिएका छन् । 

अपांगता भएका व्यक्तिले पनि समाजमा केही गर्न सक्छन् भन्ने चेतना जगाउने उदेश्यले एक्स्पोमा सहभागिता जनाएको उनिहरुले बताएका छन् । 

काठबाट बनेका बिभिन्न प्रकारका मायाको चिनो, धरानलाई चिनाउने घण्टाघर, नेपालको झण्डा, मुडा, साथै ढाकी  लगायतका सामान धरान एक्स्पोमा राखिएको छ । सुन्दरहरैँचा १० मोरङ्गमा रहेको नेत्रहिन  युवा संघ मोरङ्गले कोशी प्रदेश भरी रहेका अपांगता भएका व्यक्तिहरुले निर्माण गरेको सामाग्री लिएर धरान एक्स्पोमा आएको संघका अध्यक्ष दुर्गानाथ योगी बताउँछन् । 

कोशेली घरका प्रोपाइटर दुर्गानाथ योगी आँखाले देख्न सक्दैनन् तर धरान एक्स्पोमा हामीसँग भेट्दै गर्दा एक्स्पोबाट निकै माया पाएको र शारिरिक अपांगता व्यक्तिहरुको क्षमता प्रशर्दनमा राखिएको बताए । 

योगी आफैँ तालिम सहजकर्ता समेत रहेकाले दृष्टिहिनहरुले तालिम पाएपछि सहजै हस्तकलाका सामाग्रीहरु निर्माण गर्न सक्ने बताउँछन् । कुन सामानको लागि कतिमा मोड्ने र कसरी मोड्ने भन्ने तालिम पाएपछि सहजै मुडा, ढाकी जस्ता हस्तकलाका सामानहरु बन्न सक्ने योगीको भनाई छ । 

मोरगका ५ जना दृष्टिबिहिनहरु मिलेर सन्चालन गरेको कोशेली घरमा ३० जना भन्दा बढि अपांगता भएका व्यक्तिहरुले निर्माण गरेका सामाग्रीहरु कोशेली घरबाट बिक्रि वितरण गर्ने गरिएको छ । 

धरान एक्स्पोमा आफुले गरेको अपेक्षा धेरै भएपनि कमाउनु भन्दा पनि चेतना विस्तारको लागि आफुहरु एक्स्पोमा आएको र परिवेक्षकहरु आएपछि सामान किनिदिइरहेको दुर्गानाथले हामीलाई सुनाए । 

अपांगता भएका व्यक्तिहरुले गुडिया, मिक्की माउसहरु फुलदानी, कुच्चो, झाडु, काठबाट बनेका मायाको चिनोहरु   बाँसका आइटम डालो,फुलदानी, लगायतका सामान कोशेली घर मार्फत बिक्री वितरण भइरहेका छन् । अपांगता भएका व्यक्तिहरुले घर घरमा सामान बनाउने र अहिले ३० जना अपांगता भएका व्यक्तिहरुले निर्माण गरेका सामानहरु कोशेली घरले बेच्ने गरेको छ । कोशेली घर सन्चालनका लागि कोशी प्रदेश सरकारबाट केही सहयोग पाएको र त्यही सहयोगको साथमा आफुहरुले सीपलाई चिनाउने काम गरिरहेको उनिहरुले बताएका छन् ।