इटहरीः पुस १ गतेदेखि प्रदेश १ मा ट्राफिक प्रहरीले विशेष अप्रेसन शुरू गरेको बताएको छ । आक्रमक र नग्न होडिङ बोर्ड हटाउने, ट्रिफरलाई नियमन गर्नेदेखि सडक प्रयोगबारे सचेतना फैलाउँदै हिँडेको ट्राफिकले कतै मानिसको झुण्ड देख्यो कि ५ देखि १० मिनेट पढाउन थालिहाल्छ ।
प्रदेश १ ट्राफिक कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंका अनुसार सडकको प्रयोगको बारेमा अनभिज्ञ हुँदा मानिसको अकालमा ज्यान गइरहेको छ । त्यसैको बारेमा प्रधान कार्यालयको निर्देशनबमोजिम प्रेदशभित्र गतिविधि बढाइएको हो ।
पछिल्लो समय इलाममा पिकनिक खान आएका दर्जनौँ टोलीलाई ट्राफिकले सचेतना कक्षा सञ्चालन गरेको छ । ‘पिकनिक खान आउने मानिस फुर्सदको समय सदुपयोग गर्न आउने भएकाले हामीले सो समयलाई अझै फलदायी बनाउने प्रयास गरेका हौं,’ प्रसाईंले भने ।
उनका अनुसार स्थानीय सरकारसँगको सहकार्यमा दुर्घटना न्यूनीकरण कार्यक्रमलाई तीव्रता दिइएको छ ।