इटहरी/ भानुजयन्तीको पूर्वसन्ध्यामा सुनसरीको इनरुवामा भएको साहित्यिक कार्यक्रम विवादमा तानिएको छ । वि.सं. ०७४ साल भदौमा गठन भएको इनरुवा प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा आयोजक संस्थाकै सदस्य पुरस्कृत भएपछि विवाद सिर्जना भएको हो ।
इनरुवाको नगरसभाको अनुमति लिएर गठन भएको भनिएको सो प्रतिष्ठान ८ महिनासम्म निस्क्रिय थियो । गत जेठमा मात्रै सबै सदस्यलाई औपचारिक जानकारी दिइएको प्रतिष्ठानकै एक सदस्य नाम उल्लेख नगर्ने शर्तमा भन्छन् । त्यसभन्दा पहिले निस्क्रिय रहेको सो संस्थाले भानुजयन्तीको पूर्व सन्ध्यामा बिहीबार इनरुवामा गरेको कार्यक्रम विवादमुक्त हुन नसकेको हो ।
प्रतिष्ठानले ४ वटा शीर्षकमा पुरस्कार वितरण गर्न लागेपछि पुरस्कृत हुने व्यक्तिको विषयलाई लिएर आयोजकबीच नै विवाद सिर्जना भएको थियो । आयोजक संस्थाकै २ जना पदाधिकारीको नाम पुरस्कृत हुनेको सूचीमा सूचीकृत भएपछि त्यसको विरोध गर्नेको आवाजलाई बेवास्ता गरिएको प्रतिष्ठानकै ती सदस्य बताउँछन् । उनका अनुसार १ जना सदस्यले सो पुरस्कार अस्वीकार गरे । उनले पनि सो पुरस्कार अस्वीकार गरेका भए आयोजक संस्थाकै ३ जना सदस्यले पुरस्कार पाउने थिए ।
महाकाव्य लेखेकाले पुरस्कार पाएँ ः भण्डारी
प्रतिष्ठानले गरेको कार्यक्रममा इनरुवा काव्यरत्न पुरस्कार पाउने डम्बरुबल्लभ भण्डारीका अनुसार महाकाव्य लेख्ने साहित्यकार इनरुवामा उनीमात्रै भएकाले काव्यरत्न पुरस्कार पाएका हुन् । ‘महाकाव्य लेख्ने इनरुवावासी साहित्यकार आफूमात्रै भएको हुनाले आयोजक संस्थाकै सदस्य भए पनि मैले सो पुरस्कार पाएको हुँ,’ टेलिफोन सम्पर्कमा भण्डारीले भने, ‘म आयोजक भए पनि र नभए पनि पुरस्कार पाउँथे ।’ ०६७ सालमा उनले अझै क्रान्ति बाँकी छ शीर्षकको महाकाव्य प्रकाशन गरेका थिए । वडा नम्बर ५ का वडा सदस्यसमेत रहेका उनी आयोजक संस्थाका सदस्य सचिव हुन् ।
अर्काे सालसम्ममा इनरुवाका कुनै साहित्यकारले महाकाव्य लेखेनन् भने यो पुरस्कार कसैले पाउँदैन भन्ने जिज्ञासामा उनले इनरुवाबाहिरको साहित्यकारले सो पुरस्कार पाउने बताए । उनले प्रतिष्ठानको विधानमा इनरुवाभन्दा बाहिरका साहित्यकारलाई पनि पुरस्कृत गर्न सकिने बुँदा उल्लेख गरेको बताउँदै धरानका साहित्यकार भीम खतिवडा वा वराहक्षेत्रका साहित्यकार खेम दाहालले सो पुरस्कार पाउन सक्ने बताए ।
विवादित हुन सक्ने सम्भावना थियो ः रिजाल
कार्यक्रममा इनरुवा साहित्य रत्न पुरस्कार पाउने छविनाथ रिजाल भने आयोजक संस्थाकै सदस्य पुरस्कृत हुँदा विवाद आउन सक्छ भनेर आफूले आवाज उठाएको बताउँछन् । ‘आयोजक नै पुरस्कृत हुनु राम्रो होइन भनेर मैले डम्बर भण्डारीलाई भनेको थिएँ’, बिहीबार साँझ टेलिफोन सम्पर्कमा उनले भने, ‘तर, मैले माथि (नगर सभा बोर्डबाट) पास गराइसकेको छु । पुरस्कार आयोजक भनेर होइन योग्य मान्छेलाई दिने हो भनेपछि मैले सो पुरस्कार लिन स्वीकार गरेको हुँ ।’ रिजालका ‘मृदु सुन्दर’ औपन्यासिक काव्य र ‘माया मोह’ गीतिकाव्य प्रकाशित छन् ।
कार्यक्रममा विवाद हुनु सामान्य हो ः उपकुलपति
इनरुवामा यस्तो कार्यक्रम पहिले नभएको हुनाले पहिलो पटक आयोजना हुँदा विवाद हुनु सामान्य भएको बताउँछन् प्रतिष्ठानका उपकुलपति उपेन्द्र पागल । ‘पहिलो पटक कार्यक्रम भएको हुनाले विवाद हुनु नौलो होइन,’ टेलिफोन सम्पर्कमा उनले भने, ‘अर्काे वर्षदेखि यस्ता विवाद कम हुँदै जान्छन् ।’ सो प्रतिष्ठानले आगामी लक्ष्मी जयन्तीमा सो प्रतिष्ठानका उपकुलपति उपेन्द्र पागल र प्राज्ञ जीवनाथ पोखरेललाई नागरिक अभिनन्दन गर्ने भएको छ । यस विषयमा जिज्ञासा राख्दा उनले भने, ‘मेरो विषयमा कसैले विरोध गर्छ भने मलाई अभिनन्दनै चाहिँदैन ।’ उनले आफूले राष्ट्रिय महत्वका धेरै पुरस्कार र सम्मान पाइसकेको बताउँदै सानातिना कुरामा विवाद गर्न नहुने बताए । नगरपालिकाले पुरस्कारको लागि १० लाखको अक्षयकोष स्थापना गर्नुका साथै कार्यक्रमको लागि ५ लाख रुपैयाँ विनियोजन गरेको उनले बताए । असारमा कार्यक्रम नगरे ५ लाख रुपैयाँ फ्रिज हुनाले असारमै कार्यक्रम गरिएको तर आगामी कार्यक्रम वर्षैभर सञ्चालन गरिने उनको भनाइ थियो ।
प्रतिष्ठानको वैधानिकतामा प्रश्न
बिहीबार कार्यक्रमस्थलमा उपस्थित भएका साहित्यानुरागी नवीन आले, दिनेशभूमिलगायतका व्यक्तिले प्रतिष्ठानको वैधानिकतामाथि प्रश्न उठाएका थिए । उनीहरूले यो समितिको कहिले शपथग्रहण भयो, पुरस्कार मूल्यांकन समितिमा कोको सदस्य थिए अनि कुनकुन मापदण्डका आधारमा स्रष्टा चयन गरियो त्यसको जानकारी आयोजकसँग मागेका थिए । इनरुवा प्रज्ञा प्रतिष्ठानको कार्यक्रमको उद्घोषक चाहिँ इनरुवाबाहिरको व्यक्तिलाई बनाइएको विषयमा पनि कार्यक्रममा आवाज उठेको कार्यक्रममा सहभागी एक सञ्चारकर्मीले बताए । बजेट सक्न मात्रै कार्यक्रम गरेको आरोप असन्तुष्ट साहित्यकारले लगाएका थिए ।
पुरस्कार अस्वीकार
४ जना व्यक्तिलाई जनही ५० हजार १ रुपैयाँ राशिको सो पुरस्कार दिने प्रतिष्ठानले निर्णय गरे पनि १ जना व्यक्तिले भने सो पुरस्कार अस्वीकार गरेका थिए । ‘मेयर सामाजिक सेवा पदक’ लिन राजनीतिक व्यक्तित्व तथा समाजसेवी पोष्टकुमार नेपालले अस्वीकार गरेका हुन् । नेपालले मात्रै होइन अर्का १ जना व्यक्तिले पनि पुरस्कार लिन अस्वीकार गरेका थिए । प्रतिष्ठान स्रोतका अनुसार मेयर साहित्य रत्नश्री पुरस्कार पनि प्रतिष्ठानकै एक सदस्यलाई दिन लागिएको थियो । तर उनले पनि सो पुरस्कार लिन अस्वीकार गरेका थिए । त्यसपछि इनरुवाका सञ्चारकर्मी जयकृष्ण यादवलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको थियो । नेपालले भने अन्तिम समयमा पुरस्कार नलिने निर्णय गरेका हुनाले उनको सट्टामा कसैलाई पनि पुरस्कृत नगरिएको बुझिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रध्यापक डाक्टर टंकप्रसाद न्यौपाने, प्रतिष्ठानका कुलपति तथा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र उपकुलपति प्राज्ञ उपेन्द्र बस्नेत पागलले तामपत्र र नगदसहित सम्मान गरेका थिए ।
पुरस्कृत भण्डारीको ‘आफनै वरिपरी’ कथा संग्रह पनि कार्यक्रममा विमोचन गरिएको थियो । कार्यक्रममा झापा, मोरङ, सुनसरीका साथै प्रदेश १ का अन्य जिल्लाका साहित्यकारको उल्लेख्य उपस्थिति थियो ।