बेलबारीः राष्ट्रिय झण्डाको महत्व बुझाउने उद्देश्यका साथ मेची–महाकली पदयात्रामा निस्किएका लक्ष्मीनारायण शिल्पकार मोरङ आइपुगेका छन् ।
भक्तपुरका स्थायी बासिन्दा ६२ वर्षीय शिल्पकार पुस १ गतेदेखि राष्ट्रिय झण्डा लिएर महाकालीबाट आफ्नो यात्राको शुरु गरेका थिए । ८ दिनको यात्रापछि उनी बेलबारी आइपुगेका हुन् ।
‘राष्ट्र र राष्ट्रिय झण्डाको महत्व बुझाउनका लागि पैदलयात्रामा निस्केको हुँ । देशको विकास गर्नका लागि राष्ट्रिय झण्डाको आवश्यकता हुन्छ’, शिल्पकारले भने, ‘सबैलाई बुझाउनका लागि पनि हिँडेको हुँ ।’
१२ फुटको अग्लो राष्ट्रिय झण्डा बोकेका शिल्पकारले १० दिनभित्रमा मेची–महाकाली अभियान सक्ने बताए । पैदलयात्राको क्रममा जङ्गल क्षेत्रको बाटोमा मोटरसाइकलमा लिफ्ट मागेर हिँड्न गरेको उनले बताए । १२ हजार रुपैयाँ खर्च गरेर यात्रा सक्ने लक्ष्य राखेको शिल्पकारले बताए । महाकालीको पुलको ८ नम्बर पिलरबाट आफ्नो यात्रा शुरु गरेको उनले बताए ।
मेची–महाकाली यात्रामा निस्कनुअघि पुस १ गते देखि ३ गतेसम्ममा उपत्यकाका ३ जिल्ला ललितपुर, भक्तपुर, काठमाडौं घुमिसकेको उनले बताए । २०७२ साल चैत २८ गते रारातालमा उनले बोकेको राष्ट्रिय झण्डासँग पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले तस्बिर खिचाएको समेत उनले सुनाए ।
पूर्वी नेपालको सिमाना काँकरभिट्टामा पुगेर पैदलयात्रा सक्ने बताएका उनले काठमाडौंमा विभिन्न सार्वजनिक समारोहमा राष्ट्रिय झण्डासहित सहभागी हुने गरेको सुनाए ।