मनोज भुजेल

इटहरीः दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाएर पैसा र सपना कमाउने सोचमा लागेका दुई युवाहरूको कथा समेटिएको उक्त सिरिज नेपालमा समेत छायांकन गरिएको थियो ।

सिरिज जति लोकप्रिय बन्यो त्यति नै युवाहरू प्रभावित बनेर नक्कली नोट बनाउन लागेको घटना समेत सार्वजनिक हुन थालेको छ ।

भारतकै कर्नाटक राज्य ३ जना युवा सिरिजबाट प्रभावित बनेर १९ हजार भारतीय नक्कली नोटसहित पक्राउ परे । प्रहरीको अनुसन्धानमा ती तिन युवाहरूले सिरिजबाट प्रभावित बनेर नक्कली नोट बनाएको बयान दिएका थिए ।

भारतमा यसको प्रभाव सेलाउन नपाउँदै नेपालको झापा जिल्लामा पनि दुई दाजुभाइ विभिन्न देशका नक्कली नोट बनाएको आरोपमा नोटसहित पक्राउ परेका छन् ।

झापा प्रहरीले यसलाई फर्जी सिरिजको प्रभाव भनेर खुलेर भनेको त छैन र अनुसन्धानको क्रममा पक्राउ परेका दुवै जना सोही सिरिज भने हेरेको बयान प्रहरीलाई दिएका छन् । झापा प्रहरीले यी दाजुभाइलाई चैत्र १ गते स्वदेशी र विदेशी नक्कली नोटसहित पक्राउ गरेको हो ।

लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ मेघावारि निवासी २४ वर्षीय सुवास ताजपुरीयाको कोठा छापा मारेको थियो । प्रहरीले ताजपुरियाको कोठाबाट नक्कली नोटसहित प्रतिबन्धित लागुऔषध समेत बरामद गरेको छ । ताजपुरिया र उनका १९ वर्षीय भाइ प्रवीण ताजपुरीया यो जाली नोट र लागुऔषध कारोबारमा संलग्न हुन सक्ने अनुसन्धानले देखाएको छ ।

प्रहरीले दाजु भाइको कोठाबाट एक हजार दरको ६० थान नेपाली नक्कली नोट, पाँच सयको दुई थान नक्कली नोट, तीन थान नक्कली अस्ट्रेलियन नोट, तीन हजार सक्कली नेपाली नोट र अन्य देशको समेत गरी ११ थान नक्कली नोट बरामद गरेको छ । 

साथै कोठाबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने ४ ग्राम ३९० मिलिग्राम लिसाईलो पदार्थ र २८ पिस नाइट्राजेपाम ट्याब्लेट समेत बरामद गरेको छ । दाजु भाइले पछिल्लो एक महिना यता विभिन्न देशका नक्कली नोट बनाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

तर उनीहरूको कोठाबाट नक्कली नोट भेटिए पनि नोट छाप्ने काम अन्य ठाउँमा गरेको हुन सक्ने जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र रिजालका अनुसार दाजु भाइले उक्त नोट कलर प्रिन्टर मार्फत छापेको बताएका छन् । 

‘नोट बनाउन प्रयोग गरेको कागज नर्मल ए फोर साईजको पेपर हो । , उनीहरूले सक्कली नोटलाई स्क्यानिङ गरेर दुवै भागको प्रिन्ट गरेका छन्’ उनले  भने ‘अब हामीले प्रिन्ट कहाँ गरे भन्ने विषयमा अनुसन्धान गरिरहेका छौ ।’

अनुसन्धानको क्रममा दाजुभाइ चलचित्रबाट प्रभावित बनेर यस्तो गलत काम गरेको हुन सक्ने डिएसपी रिजालको भनाई छ ।

साथै दुवै जना लागुऔषध कारोबारी र जुवा तास खेल्ने कार्यमा संलग्न भएको आधारले उनीहरूले बनाएको नक्कली नोट त्यस्तै कार्यमा प्रयोग गर्न खोजेको प्रारम्भिक अनुसन्धानले देखिएको बताइएको छ । बाँकी अझै झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।