इनरुवाः  इनरुवा नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा तीन जनाको दरवन्दी रहेको स्वास्थ्य सम्बन्धी काम गर्ने फाँटको दुईवटा शाखा रहेको फेला परेको छ ।

नगरपालिकामा नेपाल सरकारमार्फत आउने सर्शततर्फको तीन करोड बढी अनुदान रकमबाट नगरवासीको स्वास्थ्य सेवामा सहज पहुच नपुगेको अवश्थामा राजनीतिक पहुँचका आधारमा दुईवटा शाखा स्थापना गरि प्रशासनिक संरचनाको धज्जी उडाईएको पाईएको हो ।

इनरुवा नगरपालिकामा विगत ६ वर्षदेखि स्थापना गरि स्वास्थ्य सम्बन्धी नीति कार्यक्रम योजना बनाउँदै आएको स्वास्थ्य शाखा भित्रै थप अर्को जनस्वास्थ्य उपशाखा स्थापना गरि एउटै प्रकृतीको कामकाजका लागि दुईवटा शाखा संचालनमा ल्याएको हो ।

स्रोतका अनुसार संद्यिय सरकारको स्वास्थ्य मन्त्रालयबाट आउने तीन करोड हाराहारीको वार्षिक बजेटको ७० प्रतिशतभन्दा बढी बजेट बैठक, सेमिनार, तालिम, गोष्ठी, भ्रमण, भत्ता लगायतको गैह्स्वास्थ्य क्षेत्रमा खर्च गर्न राजनीतिक पहुँचको आधारमा दुईवटा शाखा स्थापना गरिएको हो ।

जनस्वास्थ्य उप–शाखामा कार्यरत रहेका दुईजना काममा खटिएका स्वास्थ्कर्मीले नगरक्षेत्रमा स्वास्थ्य सेवामा इनरुवावासीको प्र्रत्यक्ष सेवा लिने योजना र स्वास्थ्यमा भन्दा सहभागीहरुको उपस्थिति हाजिर बनाएर बिल भर्पाई भौचर खडा गरि होटलको हल भाडा, चिया नास्ता, खाना, फलेक्स व्यानर, स्टेशनरी, भत्तालगायतको रकममा विगत तीन वर्षदेखि खर्च गरि आएको कर्मचारी स्रोतको दावी रहेको छ ।

स्वास्थ्य कर्मचारी स्रोतका अनुसार स्वास्थ्य शाखामा स्थायी दरवन्दीका कार्यरत रहेका सातौ तहका स्वास्थ्य अधिकृत कप्लेश्वर प्रसाद साह प्रमुख रहेको स्वास्थ्य शाखाले स्वास्थ्य सेवाको निर्धारित मापदण्डभन्दा बाहिर गएर अनियमिता हुने कागज र बजेटको बिल तथा योजना कार्यान्वयन नगर्ने भएपछि काजमा कार्यरत रहेका दुईजना स्वास्थ्कर्मीलाई सेटिङ्गमा जनस्वास्थ्य उपशाखामा पदस्थापना गरिएको हो ।

इनरुवा नगरपालिकाका रहेको स्वास्थ्य शाखामा काममा कार्यरत रहेका बराहक्षेत्र नगरपालिकाबाट काज सरुवा भई आएका छैठौ तहका सीअहेव अधिकृत निखिल पोखरेललाइए प्रमुखको जिम्मेवारी दिएर उनीभन्दा सिनियर रहेका बविया स्वास्थ्य चौकीका छैठौ तहका सीअहेव अधिकृत सन्तोष देवलाई जनस्वास्थ्य उपशाखाको सहायकको जिम्मेवारी दिएको छ ।

पोखरेल नेपाली कांग्रेसको भातृ संस्थाका रुपमा रहेका निजामती कर्मचारी युनियनका सुनसरी अध्यक्षसमेत हुन ।

इनरुवा नगरपालिकामा समायोजना भई दरवन्दीमा कार्यरत रहेका सातौ तहका स्वास्थ्य अधिकृत कप्लेश्वर प्रसाद साह, छैठौ तहका सीअहेव अधिकृत मिश्रीलाल मेहता, छैठौ तहकी सीअनमी अधिकृत कुमारी मेहता भने जिम्मेवारीबाट बञ्चित हुन पुगेका छन ।

महालेखा परिक्षकको कार्यालयले इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाले बजेटको सर्शत अनुदान रकम निर्देशिका र स्वास्थ्य मापदण्डभन्दा बाहिर गएर खर्च गरेको भन्दै अघिल्लो आर्थिक वर्षदेखि सचेत गराउँदै आएको थियो ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले कामको बोझ धेरै भएकाले कर्मचारीहरुको आपसी सहमतिमा दुईवटा शाखा बनाएको बताए ।

मेयर भण्डारीले इनरुवावासीको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनका लागि आफु प्रतिवद्ध रहेकाले स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीले मापदण्डभन्दा बाहिर गएर अनियमितता हुने गरि काम गरेको फेला परेमा कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

आफुले एक पैसा पनि नखाने र खान पनि नदिने दावी गर्दै मेयर भण्डारीले नगरवासीको स्वास्थ्य सेवामा खेलवाड गरि अनियमिततामा कर्मचारी संलग्न भएको भए नछाडने र यस्ता बिषयको समाचारहरु खोजी खोजी संचारक्षेत्रले प्रकाशन गर्न आग्रह गरे ।

यसैगरि इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले नवौ नगरसभाको निर्णयअनुसार दुईवटा शाखा स्थापना गरि जिम्मेवारी दिएको दावी गरेपनि नवौ नगरसभाको नीति कार्यक्रम योजना र बजेटको निर्णयमा भने थप शाखा स्थापना गर्ने उल्लेख गरिएको पाइदैन।

प्रमुख प्रशासकीय अधिकृत राईले नगरसभाले आवश्यकता ठानेर उपशाखा बनाएको दावी गरे तर नगरपालिकाको मेयर केदार भण्डारीले नगरसभाबाट त्यस्तो निर्णय नभएको जनाए।