दुहबीः छोरीलाई दाइजो होइन पैतृक सम्पत्तिमा अंश देऊ’ भन्ने मूल नारासहित दुहबीमा दाइजोविरुद्ध र्याली प्रदर्शन गरिएको छ ।
इस्लामी सङ्घ नेपाल दुहबी नगर समितिको आयोजनामा निकालिएको र्यालीले सोनापुर बजार परिक्रमा गरेको थियो । सोनापुर चोकबाट निकालिएको र्याली मेनरोड हुँदै रनीगाउँसम्म पुगेको थियो ।
सहभागीहरूले ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ लगायतका महिला अधिकारका पक्षमा नारा लेखिएका प्लेकार्डसमेत बोकेका थिए । र्याली नगरक्षेत्रको विभिन्न भागको परिक्रमापछि सोनापुरको माउण्ट एभरेष्ट सेकेण्डरी स्कुल परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै इस्लामी सङ्घ नेपालका केन्द्रीय अध्यक्ष तथा केन्द्रीय अभियन्ता मौलाना गुलाम रसुल फलाहीले दाइजोको रूपमा पैसा माग्न र सोही कारण महिलालाई यातना दिनु मानव सभ्यताविपरीत काम भएको बताए । छोरीलाई दाइजो दिनुको साटो शिक्षा दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा दाइजोविरुद्धको कविता पाठसमेत गरिएको थियो । इस्लामी सङ्घको देशव्यापी दाइजोविरुद्धको अभियानअन्र्तगत दुहबीमा जनचेतनामूलक र्याली निकालिएको आयोजक समितिका अध्यक्ष एस रहमान राइनले जानकारी दिए ।