बेलबारीः मोरङको बेलबारीमा रहेको मालपोत कार्यालयले बुधबारदेखि अनलाइन प्रविधिबाट सेवा दिन शुरु गरेको छ । २०५५ सालमा स्थापना भएको मालपोत कार्यालयले १ सय ४७ औं शाखाका रूपमा सेवा दिन थालेको थियो ।

बुधबार एक कार्यक्रमको आयोजना गरी अनलाइन प्रविधिको उद्घाटन गरिएको छ । अनलाइन प्रविधिको उद्घाटन गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक गोकर्णमणि दवाडीले नयाँ प्रविधिका कारण मालपोत कार्यालयमा आउने गुनसोको अन्तय हुने बताए ।

उनले कर्मचारीहरूले कमिसन लिने गरेको भन्ने गुनासो समेत अन्त्य हुने बताए । जग्गा सम्बन्धी नक्कली कारोबार गर्नेहरूका दिन गएको भन्दै दवाडीले भने, ‘जग्गाधनीको फोटो र फोन नम्बर समेत हुन्छ । उनले लेखापढी व्यवसायीहरूलाई समेत प्रविधिमा आउन आग्रह गरे ।

केही समयमै विभागले सम्पूर्ण काम अनलाइनबाट गर्ने बताउँदै उनले भने अब केही वर्षमै हातले लेखेका कागजात हट्छन् । यस्तै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले मालपोत कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गरिनुपर्ने बताए । कर्मचारीहरूलाई तालीम दिएर दक्ष बनाएर मात्रै विभिन्न प्रविधि ल्याउन उनले आग्रह गरे ।

प्रदेश नम्बर १ का झापा, मोरङ तथा सुनसरीका मालपोत कार्यालयमा अनलाइन प्रविधिबाट काम सुचारु भएको छ । उक्त प्रविधिमा जग्गाधनीको फोटो, मोबाइल नम्बर औँठाछापसमेत ३ पुस्ते हुने मालपोत कार्यालयले जनाएको छ । प्रविधिबाट सेवा शुरु गरे पनि अहिले नै सम्पूर्ण रूपमा सो प्रविधि अवलम्बन नहुने हुनाले ढड्डा भने बन्द नहुने कार्यालयले जनाएको छ ।

cm rai meeting pradeshportal.com