सङ्खुवासभा: पछिल्लो समय सङ्खुवासभामा आँखाका रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । बढीजसो ज्येष्ठ नागरिकमा आँखाको रोग देखा परे पनि केही युवा र बालबालिकामा पनि उल्लेख्य रूपमा यो समस्या देखिन थालेको छ ।

केही दिन अघि खाँदबारीस्थित नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रले चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिकाका केही वडामा आँखा उपचारसम्बन्धी घुम्ती शिविर सञ्चालन ग¥यो ।

चिचिला गाउँपालिकाको ५ वटै वडामा सञ्चालित शिविरमा ३५ जनाको मोतियाबिन्दुको अप्रेशन गर्न सिफारिश गरिएको थियो । सभापोखरी गाउँपालिकाको वडा नं १ र २ मा सञ्चालित शिविरमा २२ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो ।

त्यस्तै, सोही गाउँपालिकाका १६ विद्यालयका विद्यार्थीको आँखा जाँच गर्दा ५० जना विद्यार्थी चश्मा लगाउनको लागि छनोट भए । तर ती आँखाका बिरामी उपचार गर्न भने नआएको उपचार केन्द्रले जनाएको छ । आँखाको उपचारमा स्थानीयले त्यति धेरै चासो दिएका छैनन् ।

आँखाको थप उपचार (शल्यक्रिाया) का लागि छानिएका बिरामीको शल्यक्रिया गर्ने उद्देश्यले केन्द्रमा नै पुन शिविरको आयोजना हुँदा पनि पुनः ती रोगी शिविरमा नआएको सङ्घले जनाएको छ । आँखाको परीक्षण गर्ने शिविरकै क्रममा आफूहरूले शल्यक्रिया सेवा लिन आउनु भने पनि केही मात्र शल्यक्रिया सेवा लिन आएको इन्चार्ज क्षितिज बरालले बताए ।

गाउँपालिकामा सञ्चालित शिविरबाट सिफारिश भएका रोगीलाई लक्षित गरी शिविर आयोजना भए पनि त्यस्ता रोगी ७ जना मात्रै आएको बरालले बताए । उनले भने, ‘गाउँपालिकामा छानिएका ७ जना मात्रै बिरामी आए । अन्य ५० जना आए । त्यसबेला सबै ५७ जनाको मोतियाबिन्दुको शल्यक्रिया ग¥यौंँ ।

उनीहरूमा चेताना नहुँदा उपचार सेवा लिनबाट वञ्चित भएको बराल बताउँछन् । मोतियाबिन्दुको शल्यक्रिया गर्न आउनेले शल्यक्रियापछि आँखा देख्न थालेकाले हर्षित भएका छन् । शल्यक्रिया अघि केही नदेख्नेले पनि अहिले राम्रो देख्न थालेपछि खुशी व्यक्त गरेका छन् ।

शल्यक्रियासहितको शिविरमा सेवा दिन आएका इटहरी आँखा अस्पतालका डा. ईशा विष्टले बेलैमा मोतियाबिन्दुको शल्यक्रिया नगरे सधैंका लागि आँखाको ज्योति गुम्न सक्ने बताइन् । पछिल्लो समय प्रविधिले गर्दा सामान्य तरिकाले छोटो समयमै शल्यक्रिया गरिने भएकाले कोही पनि डराउनुपर्ने कारण नरहेको डा. विष्टको भनाइ छ । प्रौढ उमेरमा आँखा नदेख्नुलाई सामान्य रूपमा नलिई बेलैमा उपचार गर्न डा. विष्टको सुझाव छ ।

सङ्खुवासभामा बढ्दो अवस्थामा रहेको आँखाको रोगको न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थानीय तहसँगको साझेदारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्रले घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।