उर्लाबारीः हातमा सीप र मनमा आँट भए कुनै पनि काम गर्न न बुढ्यौलीले छेक्छ न परिवारले रोक्छ । मोरङको कानेपोखरी–७ का गोरे विश्वकर्मा ७३ वर्षको भएर पनि आरनको सहारा लिएर महिनामा करिब २५ हजार रुपियाँ कमाउछन ।
गोरेको अनुहार चाउरी परिसक्यो । दाँत आधाउधी झरिसके । दारी कपाल फुलिसके । काँजो लगाएको चस्मा लगाएर उनी चैतको गर्मीमा आरन चलाउँदै आफ्नो परम्परागत पेसालाई धानिरहेका छन । तीन भाइ छोरा वरिपरि छन् । नातिहरू पनि लाठे भइसके । आफ्नो परम्परागत पेसाबाट प्रसस्त पैसा कमाउन सकिन्छ भन्ने जान्दाजान्दै उनीहरू बाबुको पेसासँग बेखबरजस्तै छन् । गोरेले भने, “घन ठोक्न साथी चाहिन्छ, त्यतिबेला गुहार माग्छु । नजिकै भएकोे बेला छोरा नातिले आलोपोलोे गरेर सघाउँछन् ।”
खोटाङबाट सात वर्षअघि मोरङको कानेपोखरी–७ मा बसाइँ झर्नुभएका गोरेलाई दुईरतीन वर्ष आफ्नो सीपको प्रचार गर्न समय लाग्यो । जब उनले खुकुरी, हँसिया, दाउ, बन्चरोलगायतका घरायसी हातहतियार बनाउने सीप देखाउन थाले । गाउँमा उनलाई भ्याइनभ्याइ भयो । उनी भन्छन, “काम नपाएर कुनै दिन बस्नु परेको छैन । हिउँद होस् या बर्खा, गोरेको दैनिकी आरनमा कोइला हाल्दै भाटी चलाउने र हँसियामा दाँत काट्ने, खुकुरी बनाउने, दाप लगाउने सुरु हुन्छ ।”
दैनिक सात सयदेखि एक हजार रुपियाँ कमाइ भइरहेको बताउने गोरे सीप हुँदा पैसा कमाउन विदेश जानुनपर्ने बताउछन । उनले भने, “छोरो नाति मैलो लाग्ला जस्तो गर्छन्, आफ्नोे परम्परागत पेसा नै गर्न लजाएर कहाँ हुन्छ र,” छोराहरूलाई सीप सिकाउन खोज्दा पनि नमानेपछि अहिले गोरेले छोराहरू स्वतन्त्र रूपमा काम गर्न छोडिदिनुभएको छ । उनले हाँस्दै भने, “केटाहरू मेरो जति पैसा कमाउँदैनन् । चार हजार भत्तासहित आफूले मासिक ३० हजार कमाउने गोरेको दाबी छ ।” यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।