इटहरीः  रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको लर्ड बुद्ध इन्टरनेशनल स्कुलले अतिरिक्त क्रियाकलाप अन्तरगत नयाँ शैक्षिक सत्रको सुरुवात र पुरानो शैक्षिकसत्रको अन्तमा विद्यार्थीका लागि निःशुल्क सप्ताहव्यापी बसन्त क्याम्प सञ्चालन गर्ने भएको छ ।  

विशेषगरी कक्षा ५ र कक्षा ८ को परिक्षा सकाएर बसेका रामधुनीको झुम्का र आसपासका विद्यार्थीलाई लक्षित गरी अतिरिक्त गतिविधिको क्याम्पस सञ्चालन गर्न लागेको विद्यालयका प्राचार्य अर्जुन प्रसाद न्यौपानेले बताए । 

चैत्र १७ गतेदेखि चैत्र २४ गतेसम्म एक हप्ता सञ्चालन हुने  क्याम्पमा रामधुनी नगरपालिका आसपासका जो कोही विद्यार्थी तथा अभिभावक पनि गएर अवलोकन गर्न सक्ने विद्यालयले जनाएको छ । 

337561308_1537075366816946_8661659938728616657_n

रामधुनी नगरमै पहिलो पटक इसिए तथा सिसिए स्प्रीङ्ग क्याम्पको आयोजना गरेको विद्यालयको दावी छ । शैक्षिक सत्र सकिएपछि घरमा दिक्कलाग्दो दिन विताइरहेका विद्यार्थीहरुका लागि नृत्य, गायन, भलिवल, फुटबल, बास्केटवल, क्रिकेट लगायतका खेलको मज्जा लिनुका साथै सबै खेलका प्रशिक्षकबाट टेक्निक सिक्ने अवसर विद्यार्थीहरुले पाउने विद्यालयले बताएको छ । 

विद्यालयको पढाई सकेका विद्यार्थीलाई फरक तरिकाले पुन विद्यालयमै रमाउन सकिन्छ , खेल्न तथा मनोरन्जन गर्न सकिन्छ भनेर एक हप्ता क्याम्पको आयोजना गर्न लागिएको प्राचार्य न्यौपाने सुनाउँछन् । चैत्र १७ गतेदेखि २४ गतेसम्म विहान ७ बजेदेखि १० बजेसम्म हुने उक्त  प्रशिक्षण पुर्णतया निः शुल्क हुने विद्यालयले बताएको छ ।